ललितपुर महानगरद्वारा जोशी र कायस्थ सम्मानित, आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था
काठमाडौँ । ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि एवं अनुसन्धानकर्ता हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने भएको छ ।
बिहीबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाले आजबाट लागू हुनेगरी अनुसन्धानकर्ता जोशी र वरिष्ठ साहित्यकार कायस्थलाई आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गरेको हो ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कला, संस्कृति, सम्पदा संरक्षणमा अनवरत रूपमा सक्रिय भई महानगरको पहिचान बढाउने काम गरेको योगदानको कदरस्वरुप उनीहरूको दिनचर्यालाई सहज बनाउन सो सम्मान दिएको बताए । उनले अस्पतालमा भर्ना भई उपचार गराउनुपरेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च समेत महानगरपालिकाले व्यहोर्ने बताए ।
उनले भने ‘हामीले आज वास्तवमा ठूलो काम गरेका छैनौँ । मात्र उहाँहरूको सम्मानमा, उहाँहरू यत्रतत्र जहाँ जहाँ जानुहुन्छ, कृपा गरी तपाईँहरू अब ट्याक्सी नचढ्नुस्, बस नचढ्नुस्, मोटरसाइकलको पछाडि पनि नबस्नुस् । महानगरपालिकाले तपाईँहरूको जीवन पर्यन्तको निमित्त हामीले गाडीको व्यवस्थापन गरेका छौँ । तपाईँहरू जहाँ जानको लागि भएपनि गाडीको प्रयोग गर्नुहोस् । तपाईँहरू दुवै जनाको निमित्त एउटा गाडीको व्यवस्थापन गरेका छौँ । त्यसमा ड्राइभर, सेक्युरिटी गार्ड र मोबाइल दिएका छौँ । हामी तपाईँहरूको कनट्याक्टमा बसिरहन्छौँ, हामीले एउटा फुल टाइमर ड्राइभरको पनि हामीले व्यवस्थापन गर्छौँ । कतै जानुपर्दा खबर गर्नुस्, महानगरपालिका हाजिर हुन्छ । ललितपुर महानगरपालिकाले उहाँहरूलाई हस्पिटलाइज भएर कुनैपनि किसिमको औषधि उपचार गर्नुपर्ने अवस्था छ भने त्यसको सम्पूर्ण खर्च, आर्थिक भार महानगरपालिकाले व्यहोर्छ ।’
संस्कृति शिरोमणि एवं अनुसन्धानकर्ता जोशीका पुस्तकहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश रहेका छन् । साथै संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार कायस्थको पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश छ । जोशीले संस्कृतिका विविध विधामा तीन दर्जन बढी पुस्तक लेखेका छन् भने कायस्थका ५ दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् ।
कला, संस्कृति, सम्पदा संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वको सम्मान र कदरस्वरुप महानगरपालिकाले सो काम गरिरहेको प्रमुख महर्जनले बताए ।