पहिलो पटक स्रष्टाको आमा सम्मानित

काठमडौं । स्रष्टा सम्मानित हुने अभ्यासभन्दा फरक अभ्यास अर्थात् स्रष्टा जन्माउने आमा पहिलो पटक सम्मानित भएकी छन् । मौलशोभा राई आमा सम्मान, २०८१ बाट साहित्यकार दीपा राई पुनकी आमा विमला राई (साङ्पाङ) बिहीबार सम्मानित भएकी हुन् ।

अनलाइन अभिलेख प्रालिद्वारा आयोजित समारोहमा स्रष्टाको आमा राई नगद रु ५० हजार र कदरपत्रसहित सम्मानित भएकी हुन् । साहित्यलगायत कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई जन्मदिने आमालाई गरिने यस सम्मान पहिलो पटक प्रदान गरिएको हो ।

साहित्य, सङ्गीत तथा समाज सेवाका क्षेत्रमा दीपा राई पुनले पु¥याउनु भएको योगदान बापत उहाँलाई जन्मदिने आमा विमला राईलाई सम्मान गरिएको अनलाइन अभिलेखका संस्थापक एवं लेखक डा.पुरण राईले जानकारी दिए ।

उक्त समारोहमा प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानाले आफ्नो विद्यार्थी जीवनमा सम्मानित आमा राईसँग बिताएको समयले धेरै सिक्ने अवसर दिएको भन्दै आभार प्रकट गरिन् । “आमाले मलाई अनुशासनको महत्त्व नसिकाउनुभएको भए सायद म आजको यो इन्दिरा बन्न सक्षम हुने थिइन होला”, उनले विगत स्मरण गर्दै भनिन् ।

उपसभामुख रानाले हरेक आमाको ममता र त्यागबारे चर्चा गर्दै वृद्ध बाआमाको अधिकारका लागि सन्तान र सरकार सबै सचेत हुनुपर्नेमा जोडसमेत दिइन् । “सधैँ छोराछोरी पुरस्कृत हुँदा खुसी हुने आमाहरु आज आफूले स्रष्टालाई जन्म दिएको सम्मानित हुनुभएको छ । कोखलाई पुरस्कृत र सम्मान गर्ने नयाँ धारणा सुरु भएको छ, अत्यन्तै प्रशंसनीय र अनुकरणीय छ”, रानाले भनिन् ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति वैरागी काइलाले आमा सम्मानित हुने अभ्यास अनुकरणीय भएको बताए । आफ्नी आमा सम्मानित भएको खुसी साट्दै साहित्यकार दीपा राईले यस सम्मानको थालनीप्रति आभार प्रकट गरिन् । आमाको सङ्घर्ष, योगदान र मार्गप्रशस्तको प्रशंसा गर्दै उहाँले हरेक आमा सन्तानका लागि प्रेरणाको स्रोत हुने बताइन् ।

लेखक डा.पुरण राईले आफ्नी आमा मौलशोभा राईप्रति समर्पित गर्दै यस पुरस्कारको थालनी गरेका हुन् । सम्मानलाई निरन्तरता दिनका लागि उहाँले आफनो पारिश्रमिकबाट १० प्रतिशत छुट्याएको समेत जानकारी दिए ।

“कोरोना महामारीको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिने हरेक आमाहरूमा मैले आफ्नो आमाको प्रतिविम्ब पाए । त्यसबेलादेखि आमाको सम्मानमा मूर्त रुपमा केही गर्न सकिन्छ कि भन्ने लागेको थियो”, लेखक राईले भने,“त्यसैले आमाको सम्मान गर्ने निधो गरेर यो सम्मानको सुरुआत गरिएको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *