संस्कृति शिरोमणि जोशीलाई विशेष सुविधासहित सम्मान

पाटन । ललितपुर महानगरले संस्कृति संरक्षणका क्षेत्रमा निरन्तर लागिपर्नुभएका संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवं पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई विशेष सुविधासहित सम्मान गरेको छ ।

ललितपुर महानगरद्धारा बिहीबार आयोजित एक कार्यक्रममा सम्मानसहित उनीहरूको दिनचर्या सहज बनाउनका लागि ड्राइभरसहित सवारीसाधन, सुरक्षाका लागि नगर प्रहरी, मोबाइल सेट हस्तान्तरण गरेर सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्वहरू अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्चसमेत महानगरपालिकाले व्यहोर्ने नगरप्रमुख चिरीबाबु महर्जनले बताए ।

ललितपुर महानगरको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेर उनीहरूको सम्मान गरिएको महानगर प्रमुख महर्जनले बताए ।

“उहाँहरू जस्तो भाषा, साहित्य र संस्कृतिको हस्तीलाई सम्पन्न गर्न पाउनु गौरवको विषय हो, उहाँहरू ललितपुर महानगरको मात्रै हैन मुलुकै महत्त्वपूर्ण गौरवको व्यक्तित्व हुनुहुन्छ, महानगरले उहाँहरूको जीवनपर्यन्त सवारीसाधनको व्यवस्था गरेका छौँ”, उनले भने ।

वाङ्मयपुरुष शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई ९८ वर्षको उमेरमा महानगरले यही किसिमको सम्मान उपलब्ध गराएको बताउँदै प्रमुख महर्जनले यसरी गरिएको सम्मानबाट सन्तुष्टि मिलेको बताए ।

“उहाँहरूको दिनचर्या सहज होस्, हिँडडुल गर्न सजिलो होस् भनेर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौँ, हामीले सत्यमोहन जोशीलाई छ वर्ष यस्तै सुविधा उपलब्ध गराएका थियौँ”, उनले भने ।

ललितपुर महानगरको वडा नम्बर ५ निवासी हरिराम जोशी विसं १९९२ जन्मिनुभएको हो । त्यसैगरी, छत्रबहादुर कायस्थको जन्म विसं १९९९ मा भएको हो ।

संस्कृति शिरोमणि हरिराम जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकका रुपमा समावेश भएका छन् । संस्कृतिका विविध विधामा जोशीद्वारा लिखित पाँच दर्जनभन्दा धेरै पुस्तक सार्वजनिक भएका छन् ।

यसैगरी सम्मानित हुनुभएका अर्का व्यक्तित्व संस्कृतिविद् छत्रबहादुर कायस्थद्वारा लिखित पाँच दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् । कायस्थद्वारा लिखित पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकका रुपमा समावेश भएको छ ।

महानगर प्रमुख महर्जनले कलासंस्कृति र सम्पदा संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वको सम्मान र कदर गर्ने कार्यक्रम गरेको बताए । उनले ललितपुर महानगरपालिका र नेपाललाई कलासंस्कृति, सम्पदा र भाषाका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने व्यक्तित्वको सम्मानमा गरिएको यस निर्णयबाट महानगरपालिका गौरवान्वित भएको बताए ।

उनीहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै कलासंस्कृति, सम्पदा संरक्षण र यस क्षेत्रको उन्नयनमा ललितपुर महानगरपालिकाको यो निर्णयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको नगर प्रमुख महर्जनले बताए ।

ललितपुर महानगरपालिकाले यसअघि संस्कृतिविद्, शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान स्वरुप सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधन उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *