नेपालबाट बंगलादेश पठाइँदै बिजुली, प्रतिमहिना ३३ करोड आम्दानी हुने
काठमाडौँ । नेपालले पहिलो पटक बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।
सम्झौताअनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको छ । बंगलादेशलाई बिजुली बेच्ने शुरुवात तीन वटा देशका मन्त्रीले भर्चुअलरुपमा गर्ने तयारी छ । नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने १ बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
यस वर्षका लागि शुक्रवार आज एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । त्यसअनुसार नेपालले यस वर्ष आज एक दिन बिजुली बेच्नेछ । त्यसपछि बिजुली बेच्न अर्को वर्ष जुन १५ तारिख कुर्नु पर्नेछ । सम्झौताअनुसारको अन्तिम दिन आज बिजुली बंगलादेशमा पठाएर सुखद सन्देश दिन खोजिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताएका छन् ।
बंगलादेशमा विद्युत पठाउन आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ । २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बेच्न भारतले सहमति दिएको प्राधिकरणले जनाएको छ । नेपालले डलरमा बिजुली बिक्री गर्न लागेको यो पहिलो पटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ (भारु) मा कारोबार हुँदै आएको छ ।
बङ्गलादेशलाई बिजुली बिक्री गर्दा प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको अनुमान छ । नेपालले विद्युत निर्यात गर्दा प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ । गएको असोज १७ मा भएको सम्झौतामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले हस्ताक्षर गरेका थिए ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत पुर्याउनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको ह्विलिङ चार्ज अर्थात् प्रसारण लाइनवापतको शुल्क नेपाल विद्युत् प्राधिकरणले र मुजफ्फरपुरबाट बंगलादेशसम्मको शुल्क बंगलादेशले व्यहोर्ने सहमति भएको छ । कति बिजुली निर्यात भयो भनेर यकिन गर्न मुजफ्फरपुरमै मिटर रहनेछ ।