पुथाउत्तरगंगा उपनिर्वाचन

माओवादीको किल्ला तोड्न एमाले-कांग्रेस सहकार्यको सम्भावना

काठमाडौं । आगामी मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि राजनीतिक दलहरू आन्तरिक रणनीतिमा व्यस्त छन् । दलहरूको उपनिर्वाचन केन्द्रित गतिविधिले चुनावी सरगर्मी बढाएको छ ।

०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनदेखि सुरु भएको नेपाली राजनीतिमा चुनावी तालमेलको सिलसिलाले यसपटकको स्थानीय तह उपचुनावमा पनि निरन्तरता पाउने देखिएको छ । एक्लाएक्लै चुनाव लड्ने घोषणा गरे पनि उपनिर्वाचनको मिति नजिकिँदै जाँदा दलहरू फेरि चुनावी तालमेलतिरै उन्मुख देखिएका छन् ।

सत्तारूढ कांग्रेस र एमालेले पूर्वी रुकुमको पुथा उत्तरगंगामा हुने उपनिर्वाचनमा तालमेलका लागि संवाद थालेका छन् । मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षका लागि निर्वाचन हुन लागेको छ । उपाध्यक्ष पदका लागि एमालेले केशकुमारी तुलाचन र वडा नम्बर २ को अध्यक्षमा जीवन रोकामगरलाई अघि सारेको छ । तुलाचन जिल्ला उपसचिव र रोकामगर जिल्ला कमिटी सदस्य हुन् । नेपाली कांग्रेसले रिचा सुनारलाई उम्मेदवार बनाएको छ भने माओवादीले ज्ञानदेवी पुनलाई उम्मेदवार बनाएको छ ।

एक्लाएक्लै लड्दा कांग्रेस र एमालेका उम्मेदवारले जित्न कठिन रहेकाले तालमेलका लागि संवाद जारी रहेको दुवै दलका नेताहरूको भनाइ छ । कांग्रेसका एक नेताका अनुसार उपाध्यक्ष र वडाअध्यक्ष बाँड्न दुवै दलबीच छलफल भए पनि अझै निष्कर्षमा पुग्न नसकेको हो ।

एमाले रुकुम पूर्वका अध्यक्ष लीलामणि गौतमले आफ्नो पार्टीले उम्मेदवार घोषणसँगै सबै वडामा योजनाबद्ध कार्यक्रम अघि सारेर नेतृत्वलाई जिम्मेवारी दिएर चुनावी मैदानमा गएको बताए । ‘हामीले चुनावी तयारी गरिसकेका छौँ, कांग्रेससँग सहकार्यका लागि बसेका छौँ,’ उनले भने, ‘केही समझदारी भए पनि त्यो टुंगो लागेको छैन, हामीले उपाध्यक्ष लिएर जाने मोटामोटी समझदारी भएको हो ।’

गत निर्वाचनमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कमला कुमारी मल्लले २ हजार १० मत र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका थिए । यो पालिकामा जम्मा ११ हजार १ सय ८० मतदाता रहेका छन् । भूगोलमा धेरै ठूलो रहेको पालिकामा १४ वटा वडा रहेका छन् ।

चुनावको तयारी र पार्टी संगठनको काम लिएर दुवै दलका केन्द्रीय नेताहरू पूर्वी रुकुम पुगेका छन् । एमाले सचिव पद्मा अर्याल र कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पूर्वी रुकुमका नेताहरूसँग संवादमा रहेका दुवै दलले जानकारी दिएका छन् । गत भदौमा दुर्घटनामा परेर उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएका कारणले उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *