उपनिर्वाचनमा कसैप्रति आग्रह पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैन : कांग्रेस महामन्त्री शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कसैप्रति आग्रह पूर्वाग्रहको अवस्था बन्न दिनु नहुने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले उपनिर्वाचन घोषणा भएका स्थानीय तहका कार्यकारी प्रमुखहरूलाई अब चलाउन नहुने बताए । उनले दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचन भइरहेको र त्यहाँका कार्यकारी प्रमुखलाई चलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले सबै राजनीतिक दलहरूले उपनिर्वाचनमा जाँदै गर्दा आपसमा संयम र स्वस्थ वातावरणको अनुभूति गर्ने अवस्था बनाउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए ।
उनले भने ‘उपनिर्वाचन घोषणा भएको छ र उहाँको मन्त्रालयले उपनिर्वाचन हुने तहमै कार्यकारी प्रमुखहरू कतिपय ठाउँमा चलाएको छ । दैलेखको महाबु गाउँपालिकामा उपनिर्वाचन हुँदैछ, कार्यकारी प्रमुख चलाइएको छ । सरकारमा रहेको दलहरू, सरकार बाहिर रहेका कुनैपनि दलहरूले निर्वाचनमा जाँदै गर्दा आपसमा संयम र स्वस्थ वातावरणको अनुभूति गर्ने अवस्था बन्नुपर्छ । माननीय गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । निर्वाचनमा जाँदै गर्दा कसैप्रति आग्रह, पूर्वाग्रहको अवस्था बन्न नदिन गम्भीर बन्नुपर्छ ।’
महामन्त्री शर्माले अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०७६ लाई अबको संसदबाट पनि टुङ्गिने वा नटुङ्गिने भन्ने अलमल हटाउनुपर्ने बताए ।