नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्याउन समस्या
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गड्यौलाको मल जुम्लामा पुर्याउन समस्या भएको छ । जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गड्यौलाको मलको माग गरेपछि मल ढुवानीमा समस्या भएको हो ।
‘हाम्रो उत्पादन क्षमता भन्दाबढी वर्षमा चार सय टन मलको माग भएको थियो, त्यसलाई पूरा गर्न सकेका छैनौँ । हामीसँग उत्पादन भएकोलाई बजारीकरण गरिरहेका छौँ’, हमालले भने । दश वर्षअघि नेपालगञ्ज–१ स्थित नन्दनी टोलमा ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ स्थापना गरी गड्यौलाको मल उत्पादन सुरु गरेको उनले बताए ।
हमालले जमिन उर्वर बनाउन र विद्यमान मलको अभावलाई हटाउन गड्यौलाको मल सहयोगी हुने विश्वास व्यक्त गरे । ‘कृषि कर्म गर्दा स्वस्थ उत्पादनमा जोड दिनुपर्छ । अनावश्यक रूपमा रसायनिक मलको प्रयोग गर्दा माहो र जलमा नकारात्मक असर गर्न सक्छ’ उनले भने ।
अन्य किसानले उत्पादन गरेका गोलभेँडा, काउलीलगायत तरकारी सङ्कलन गरेर प्रशोधन र बजारीकरण गर्दै किसानको उत्थान गरिरहेको बताउँदै हमालले जैविक मलका रूपमा गड्यौला मल प्रभावकारी हुनुका साथै कमटोको उर्वरशक्ति बढाउने उल्लेख गरे ।
विसं २०७१ देखि २०७५ सम्म करिब ५० क्विन्टल मल उत्पादन भएको भन्दै हमालले पछिल्लो समय त्यसलाई बढाएर वार्षिक ३२ टन पुर्याइएको जानकारी दिए । गड्यौलाको मलको उत्पादन वृद्धि गर्दै एक सय टन पुर्याउने योजना रहेको उनले जानकारी दिए ।
आत्मनिर्भर कृषि कर्मको विकास गर्न, विदेशी कम्पनीले उत्पादन गरेका बिउ र रासायनिक मललाई विस्थापित गर्न अर्गानिक उत्पादनमा स्थानीय सरकारले किसानलाई सहयोग गर्नुपर्नेमा हमालले जोड दिए । ‘हामी परनिर्भर हुँदा उत्पादकत्व घटेको छ’ उनले भने ।
हमालले स्थानीय स्रोतसाधनको कच्चापदार्थ सदुपयोग गरेर गड्यौलाको मल उत्पादन गरिरहेका छन् । दश फिट लम्बाई र २२ फिट चौडाईमा निर्माण भएको ५२ पिटमा ४० क्विन्टल गड्यौला बिक्री भएको उनले जानकारी दिए । भारतको पिलिभितबाट ती गड्यौला नेपालगञ्ज ल्याएको उनको भनाइ छ ।
‘गड्यौलाको मलबाहेक गड्यौला पनि बिकी हुने गरेको छ । अहिले जुम्लासहित हिमाली क्षेत्रमा ९० प्रतिशत मल जान्छ । अन्य नेपालगञ्जका बजार क्षेत्रमा खपत हुने गरेको छ’, हमालले भने । रु १५ हजारबाट सुरु भएको फार्ममा अहिले रु २२ लाख लगानी भइसकेको छ । सबै खर्च कटाएर वार्षिक रु २२ लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिए ।
मल प्रतिकिलोलाई रु ३० र गड्यौला प्रतिकिलो रु तीन सयमा बिक्री भइरहेको हमालले जानकारी दिए । उनले गाईभैँसीको गोबर र स्याउला सङ्कलन गरेर खाडलमा राखी पाँचदेखि १० महिनामा ‘आइसनिया फेडिडा’ नामक प्रजातिको गड्यौलालाई गोबर खुवाएर मल उत्पादन हुने बताए ।
यसले माटोको उर्वर शक्ति १० गुणा बढी वृद्धि हुने विश्वास गरिएको छ । गड्यौलाले बिरुवाका लागि तयारी खाना उत्पादन गर्दछ । यो मल पानीमा पनि घुलनशील हुने, प्रतिफल पनि छिटो दिने र बालीको उत्पादन पनि बढाउने विज्ञहरू बताउँछन् ।
उपमहानगरको कृषि शाखा र कृषि ज्ञान केन्द्र बाँकेबाट प्राविधिक सहयोगसहित रु पाँच लाख आर्थिक सहयोग प्राप्त भएको हमालले जानकारी दिए । चार कट्ठा जमिन भाडामा लिएर फार्म सञ्चालन भएको हो ।