‘गुरु गन्थ साहेव’ पाठ गरी मनाइयो गुरुनानक जयन्ती

काठमाडौं । गुरुनानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘सुकमणि साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ ।

त्यस अवसरमा ‘गुरु ग्रन्थ साहेव’का बारेमा विशेष प्रकाश पारिएको थियो । कार्यक्रममा चार सय ५० जनालाई भण्डारा गराइएको स्वामी गोकुलानन्दले जानकारी दिए ।

गुरु ग्रन्थ साहिबको अखण्ड पाठ एवं भोगप्रसाद पनि सम्पन्न भएको छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।

यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाआराधना गरिन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज कुपण्डोलस्थित गुरुद्वारामा पनि पाठ पारायण एवं पूजाआराधना गरी मनाइएको छ ।

गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेव’को रचना गर्नुभभएको थियो भने जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गराउनुभएको बताइन्छ ।प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’को थालनी गरेको र निर्गुण उपासनाका पक्षपाती उहाँ ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो भन्ने शिख समुदायले बताउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *