राज्माखेतीमा ढुसीको सङ्क्रमण
चितवन । जिल्लाको खैरहनी नगरपालिकामा लगाइएको राज्माखेतीमा ढुसीको सङ्क्रमण देखिएको छ ।
खैरहनी नगरपालिका वडा नम्बर ५, ६, १० र १३ मा जरा कुहिने, ओइलाउने रोग देखिएकामा रोगी बोटको नमूना खैरहनी नगरपालिकाको ल्याबमा कल्चर गरी अध्ययन गर्दा फ्युसारियम, पाइथ्यम र राइजोक्टोनियाजस्ता ढुसी देखिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।
पालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेका अनुसार किसानले बीउ रोपेको १५ देखि २० दिनमा राज्माको बोटमा ढुसीको सङ्क्रमण देखिएको हो ।
उनले भने,“किसानहरू राज्मामा रोग लाग्यो भनेर पालिका आएका छन् । हामीले खेतबाट नमूना ल्याई ल्याबमा कल्चर गरी अध्ययन गर्दा राज्मामा ढुसी देखिएको पाइयो ।” हाल देखिएको ढुसीको समयमा उपचार गरेमा उत्पादनमा कुनै असुर नगर्ने न्यौपानेले बताए । उनले विज्ञको परामर्श लिएर उपचार गर्न किसानलाई सुझाव दिइएको बताए ।
अधिकृत न्यौपानेले ढुसीको सङ्क्रमण मुख्यतः सङ्क्रमित बीउ, माटो र हावापानीका कारणले हुने बताए । खेती लगाउँदा राम्रोसँग बीउको उपचार गरेर मात्र लगाउन उनको आग्रह छ ।
हाल ढुसी पहिचान भएको बालीमा सरसफाइ गरी बेलुका वा शीतल समयमा ‘ट्राइकोड्रमा’ वा ‘स्युडोमोनस’ जैविक विषादी ५-१० ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्ने र यदि रासायनिक विषादी प्रयोग गर्ने भएमा ‘कार्वेडाजिम’ ५० प्रतिशत ‘डब्लुपी’ विषादी एक ग्राम प्रतिलिटर पानीमा मिसाइ स्प्रे गर्न सकिने उनले जानकारी दिए ।