महालक्ष्मीका विद्यार्थीलाई कानुनी सचेतना अभिमुखीकरण
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत एक हजार पाँच सय विद्यार्थीलाई कानुनी सचेतना अभिमुखीकरण सुरुवात गरेको छ ।
नगरपालिकाले सभ्य र सुसंस्कारयुक्त समाज निर्माणका लागि युवा तथा किशोरकिशोरीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रमको सुरुवात गरेको हो ।
नगरप्रमुख हरिगोविन्द श्रेष्ठले नगरपालिकाद्वारा आइतबार आयोजित विद्यालयस्तरीय ‘कानुनी सचेतना तथा सकरात्मक सोचसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा युवा वर्ग र किशोरकिशोरीले कानुनी रूपमा सानातिना कुरा नबुझ्दा समस्या आउने भन्दै ती समस्या समाधानमा यस्ता कार्यक्रम सहयोगी बन्ने बताए ।
“सानातिन कुरा पनि अदालतसम्म पुगेर समाधान गर्नुपर्ने समस्या नआउन भनेर यो कार्यक्रम राखिएको छ । भविष्यमा सचेत र सभ्य नागरिक तयार गर्न अहिलेका युवालाई कानूनी अभिमुखीकरण र सकरात्मक सोचको भावनाका बारेमा अभिमुखीकरण गर्नु आवश्यक देखिएपछि कक्षा ११ र १२ लक्षित कार्यक्रम ल्याइएको हो”, उनले भने ।
नगरका उपप्रमुख लक्ष्मी महर्जनले युवालाई विद्यालय तहदेखि नै देशको कानुनी ज्ञान, स्थानीय तहका गतिविधि र विद्यमान कानुनका विषयमा जानकारी गराउनुपर्ने आवश्यक देखिएकाले यो कार्यक्रम तय गरिएको बताइन् ।
“आजदेखि १३ गतेसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन हुन्छ । आज छवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अभिमुखीकरण गराउँदैछौँ । भोलिदेखि सबै विद्यालयमा पुगेर यो कार्यक्रम सञ्चालन हुन्छ”, न्यायिक समितिका संयोजकसमेत रहेकी उपप्रमुख महर्जनले भनिन् । उनले यस्ता कार्यक्रमबाट विद्यार्थीले कानुनी ज्ञान कति महत्वपूर्ण हुनेछ भन्ने जानकारी प्राप्त गर्ने बताए ।
“सिकाइ र व्यवहारिक भोगाइबाट ज्ञान प्राप्त हुन्छ, सिकेका कुरा समाजमा अरुलाई पनि सिकाउन आग्रह गर्दछु । थाहा पाएर वा नपाएर दुव्र्यसनमा फस्ने युवालाई सचेत गराउँदै त्यसबाट रोक्ने कामका लागि यो महत्वपूर्ण पहल हुनेछ”, उपप्रमुख महर्जनले भनिन् ।
प्रमुख प्रशाशकीय अधिकृत प्रदीप पौडेलले उच्चमाध्यमिक तहका विद्यार्थीले यसरी कानुनी साक्षरतासम्बन्धी जानकारी पाउनु सकारात्मक उपलब्धिका रूपमा रहेको भन्दै यस कार्यक्रमले नेपाली नागरिकका हैसियतले देशको सबै कानुनका बारेमा प्रष्ट हुने अवसर प्रदान गर्ने बताए । “कानुन निर्माणका प्रक्रिया र पालन गर्नुपर्ने चरणका बारेमा हासिल हुने ज्ञानले सभ्य समाज निर्माणमा गर्न सहयोग पुर्याउनेछ”, उनले भने ।
महालक्ष्मी–५ का वडाध्यक्ष एवं न्यायिक समिति सदस्य कपिल केसीले स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहमा न्यायिक समिति रहने जनाउँदै कानुनका विषयमा स्थानीय नागरिकलाई जानकारी दिने उद्देश्यले यो कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
कक्षा ११ र १२ का विद्यार्थीलाई सहज र जिम्मेवार नागरिक बनाउने अभिप्राय यो कार्यक्रम सुरु गरिएको उनले बताए । फौजदारी अपराध र देवानी अपराधका विषयमा विद्यार्थीलाई जानकारी दिएर वालिग हुनु अघि ज्ञान दिने अभिप्रायका साथ कार्यक्रम गरिएको उनले जानकारी गराए ।जिल्ला समन्वय समितिका सदस्य शोभा महर्जनले यस कार्यक्रममा सिकेका कुरा व्यवहारिक जीवनमा लागू हुने विश्वास व्यक्त गरे ।
वडा नम्बर ६ का वडाध्यक्ष धर्म महर्जन, सिद्धी मङ्गल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नगर शिक्षा समिति सदस्य मीनबहादुर अच्छामीलगायत वक्ताले कार्यक्रमबाट देशको संविधान, ऐन, नियमका साथै मौजुदा कानुनको बारेमा जानकारी हुने, नगरपालिकाले गर्ने न्याय सम्पादन प्रक्रियाका बारेमा जानकारी हुने, सकरात्मक सोच र व्यवहारको विकास हुने विश्वास व्यक्त गरे ।