प्रेस विज्ञप्ति

प्रभु केबलकार र कुमारी क्यापिटलबिच सम्झौता सम्पन्न

काठमाडौँ । ४ वटा कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच आज शेयर निष्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्त्रगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडको मुख्य लगानीमा स्थापित प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच आज शेयर निष्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो ।

यो सम्झौता भए सँगै प्रभु केबलकारको रु.३० करोड बराबरको IPO निष्कासन गर्ने कार्य अगाडी बढेको छ ।

प्रभु केबलकारको लगानीमा तीन वटा केबलकार परियोजनाहरू अगाडी बढेका छन् । जस मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबलकार परियोजना गत असोज देखि व्यावसायिक रुपमा सञ्चालनमा आइसकेको छ ।

उक्त केबलकारबाट छोटो समयमा नै पचहत्तर भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले यात्रा गरि सकेका छन् । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केबलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केबलकार बुटवल स्थित फूलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, सांस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्त्विक सम्पदा समेत रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, यस प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदूर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केबलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मूलक उद्योग र साहसिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ ।

प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको IPO निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी उक्त सम्झौता पत्रमा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्दा विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यस कम्पनीले चालु आ.व.को पहिलो त्रैमासिकमा रु.५ करोड भन्दा बढी मुनाफा आर्जन गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *