संसदलाई बलियो बनाउन स्व. ढुंगानाको भुमिका अविस्मरणीय : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले स्व. दमननाथ ढुंगानाले संसदलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन् ।
सोमवार स्व. ढुंगानाको अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरण पुगेका सभामुख घिमिरेले स्व.ढुंगानाले संसदलाई कसरी बलियो बनाउने भन्नेबारेमा महत्वपूर्ण योगदान दिएको बताएका हुन् । उनले संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको श्रोतको रुपमा स्व। ढुंगानालाई आफूले लिएको बताए ।
उनले प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने व्यक्तिका रुपमा आफूले चिनेको बताए ।
उनले भने ‘प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने एउटा व्यक्ति हो । उहाँबाट हामी सबैले सिक्नुपर्ने संसद सञ्चालन र संसदको भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अभिभावकको रुपमा सम्झिन्छु । उहाँ अरूलाई दुःख नहोस् भन्ने चाहने, सबै दुःख आफूले व्यहोर्ने र आफू नै उदाहरण बन्ने एउटा राम्रो उदाहरण पनि हो । उहाँको मूल्य, मान्यता भनेको संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको श्रोतको रुपमा हुनुहुन्थ्यो । आकस्मिक रुपमा यो घटना सुन्दा म धेरै प्रभावित भएको छु ।’
स्व. ढुंगानालाई संसद सञ्चालन र संसदको भूमिकाको बारेमा सिक्नुपर्ने एउटा अगुवाको रुपमा आफूले सम्झिने बताए ।