देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्यागौँ : उपाध्यक्ष ज्ञवाली

दाङ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन् ।

नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २, दाङले सोमबार घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने धारणा राखे  । उनले जनताको बहुदलीय जनवाद (जबज) को सार समाजको रुपान्तरण भएको उल्लेख गरे ।

आर्थिक र सामाजिक परिवर्तनका लागि सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएको बताउँदै उनले कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले कुनै किसिमको भ्रष्टाचार गर्न नहुने स्पष्ट पारे ।

सोही कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मिसन-८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गरिने बताए । उनले नेताको टाउको जोडेर होइन कार्यकर्ताको मुख जोडेर पार्टी बलियो बनाउन चाहेको बताए ।

उनले भने,“पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन चाहन्छौँ । नेता कार्यकर्ताले जनताका समस्यासँग जुधेर, मुद्दामा ध्यान दिएर जनतालाई विश्वास गरेर अगाडि बढ्नु जरुरी छ ।”

उनले वर्तमान सरकार विकास र समृद्विको मार्गतर्फ अगाडि बढिरहेको सन्र्दभमा सत्ता पक्षबाट भएका रचनात्मक क्रियाकलापका विषयमा जनतामाझ पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *