सुन्दर भवनले होइन,सेवाले जनताको अवस्था बदलिन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताएका छन् ।

कालीकोट सदरमुकाम मान्मस्थित आज जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सेवाको अनुभूति हुने गरी हरेक क्षेत्रले काम गर्नुपर्ने बताए ।

“भवन सुन्दर बनाएर जनताको जीवनशैली बदलिँदैन”, उनले भने,“त्यसका लागि सेवा प्रभावकारी दिनुपर्दछ । मुलुकको विकास र समृद्धिका लागि सबै कर्तव्यनिष्ठ हुनुपर्दछ ।”

प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मात्र काम गर्न सक्ने उनको भनाइ छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि राज्यका सबै तहमा सबै क्षेत्रको सहभागिता रहेको बताउँदै उनले भने, “नागरिकदेखि नेतृत्व सबैको जिम्मेवारपूर्ण भूमिकाबाट मात्र समृद्धि सम्भव छ ।”

उनले सेवालाई अनुसन्धानका रुपमा बुझ्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुझाव दिए । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सीमित जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले सकेसम्म सेवालाई गुणस्तरीय बनाउनतर्फ ध्यान दिन आग्रह गरे ।

राजमार्ग नजिकका अस्पताललाई जनशक्ति र साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले प्राथमिकतामा दिइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *