सहकारी पीडितको आन्दोलनमा सहभागी हुन रास्वपाको आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी पिडितको आन्दोलनमा साथ दिन कार्यकर्तासँग आग्रह गरेको छ ।
बुधबार हुन लागेको सहकारी पीडितको आन्दोलनमा सहभागिताका लागि रास्वपाले आग्रह गरेको हो ।
रास्वपाले पार्टीका कार्यकर्ताहरू, समर्थकहरु र सम्पुर्ण जनतालाई आन्दोलनमा सहभागी भइदिन आग्रह गरेको हो ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले बुधबार गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा रास्वपाको ऐक्यबद्धता रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
झाले मंगलबार एक विज्ञप्तिमार्फत् भनेका छन्, ‘बचतकर्ताहरूको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैर–दलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त आम नेपाली नागरिकहरूमा हार्दिक आग्रह गर्दछौं ।’
सहकारी समस्या निराकरणतर्फ काम गर्न सरकारको ध्यानाकर्षण गराउँदै रास्वपाले राजनीतिक प्रतिशोधको अभ्यास गर्दै कसैलाई हिरासतमा राख्दैमा यो समस्या समाधान नहुने र पीडितले पनि आफ्नो बचत फिर्ता नपाउने दाबी गरेको छ ।