दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता पोखरेलको सम्झनामा श्रद्धाञ्जलीसभा

दाङ । नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा आज दाङको घोराहीमा श्रद्धाञ्जलीसभा गरिएको छ ।

नेकपा (एमाले) दाङको आयोजनमा पोखरेल निवास घोराहीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको सरलता, इमान्दारी र निष्ठाको प्रशंसा गरे । “आफ्नो लागि त सबैले गर्छन्, तर जसले बाँचुन्जेल देश र जनताको लागि काम गर्छ, उही व्यक्ति सधैँ स्मरणीय हुन्छ,” उनले भने ।

ज्ञवालीले पोखरेललाई सैद्धान्तिक र वैचारिक दृष्टिले अत्यन्त सरल र सालिन व्यक्ति भएको उल्लेख गर्दै उहाँको जीवन राजनीतिमा आदर्श व्यक्तित्वको नमूना भएको बताए । उनले पोखरेलले कहिल्यै पनि अरूको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने, जालझेल नगर्ने र सधैँ सत्यको मार्गमा हिँड्ने गुणको सराहना गरे । “कम्युनिष्टको हृदय फराकिलो हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो जीवनभरि व्यवहारमा उतार्नुभयो,” ज्ञवालीले भने ।

कार्यक्रममा पोखरेलका सहोदर भाइ एवं एमाले महासचिव शङ्कर पोखरेलले परिवारका लागि दाजुको त्याग र योगदानको स्मरण गरे । उनले दाजुबाट आफूले अध्ययनमा प्रेरणा पाएको र उनले साक्षरता अभियानको सुरुआत गरेर समाजमा ज्ञान र चेतनाको बीजारोपण गरेको स्मरण गरे ।

पारिवारिक जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायमा लागे पनि जहाँ गए पनि उनले राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउनुभएको भन्दै महासचिव पोखरेलले उहाँको आदर्श र योगदानलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याए ।

स्वर्गीय पोखरेलको व्यक्तित्वबारे केन्द्रीय सदस्य एवं सभासद् बहिनी मेनका पोखरेलले उहाँको सङ्घर्षशील जीवनका केही प्रसङ्ग उजागर गरे । उनले पोखरेललाई सच्चा निष्ठाको राजनीतिज्ञ मात्र नभई समाजसेवी र शिक्षाको अभियन्ताका रूपमा चित्रण गरे ।

श्रद्धाञ्जली सभामा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शोभाराम बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य, र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले मन्तव्य व्यक्त गरे ।

श्रद्धाञ्जली सभामा कविता वाचन गरेर तुलसीपुर–१९ हाडिमे निवासी भीमप्रसाद न्यौपानेले पोखरेलको व्यक्तित्व र योगदानलाई कलात्मक ढङ्गले प्रस्तुत गरे ।

देवी पोखरेलको जीवन र योगदान बहुआयामिक रहेको स्मरण गरे । उनको जन्म २००७ साल मङ्सिर ७ गते साविक विजौरी गाविस–६ हाडिमेमा भएको थियो, जो हाल तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्छ ।

उनले नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह)को सदस्य भएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले झापा आन्दोलनमा वैचारिक समर्थन जनाउनुका साथै भूमिगत अवस्थामा रहँदा पनि पार्टीप्रति आफ्नो निष्ठा कायम राखे । उनले सन्देश पत्रिका सम्पादन गर्दै वैचारिक र साहित्यिक चेतनाको प्रवर्धन गरेका थिए ।

सामाजिक सेवामा स्व. पोखरेलको योगदान

शिक्षा र सामाजिक सेवामा उहाँको योगदान पनि उल्लेखनीय छ । दाङको घोराहीमा रहेको दीपशिखा उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्यका रूपमा शिक्षाको पहुँच विस्तार गर्न उनले खेलेको भूमिका महत्त्वपूर्ण छ ।

साथै, गरिब र विपन्न वर्गका लागि निःशुल्क औषधि वितरण गरेर र बिरामीको उपचारमा सहयोग पुर्‍याएर उनले समाजसेवाको उत्कृष्ट उदाहरण दिएका थिए ।

आन्दोलन र सङ्घर्षका क्रममा उनले धेरै यातना भोग्नु परेपनि कहिल्यै आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित भएनन् । उनले भूमिगत अवस्थामा रहँदा आफ्ना भाइबहिनीको शिक्षा र राजनीतिक व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याएको थियो । साथै, उनको नेतृत्वमा पार्टीको सङ्गठन विस्तार र जनपक्षीय आन्दोलनलाई सशक्त बनाउन भूमिका खेलेका थिए ।

कार्यक्रममा सहभागी नेताले पोखरेलले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन गरेको योगदानको चर्चा गर्दै उहाँको निष्ठा, सरलता, र समाजप्रतिको प्रतिबद्धताले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

श्रद्धाञ्जली सभामा उहाँको स्मरण गर्दै उपस्थित सबैले निष्ठा र इमान्दारीको राजनीति मात्र समाजलाई समृद्ध बनाउने सहमति व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *