हलेसी तुवाचुङका व्यवासायीका लागि तीन वर्षे ब्याज अनुदान
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको छ । लगानी अभावका कारण व्यवसाय गर्न नपाएका तथा ऋण लिएर ब्याज तिर्न नसकिरहेका नगरवासीलाई आफ्नै गाउँमा स्वरोजगार बनाउने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
कृषि, पशुपालन, लघुउद्यम, होम–स्टे (घरवास), दुनाटपरी, पुष्प खेती, मौरीपालन, फलफूल खेती, फलफूल प्रशोधन केन्द्र,दूध डेरी सञ्चालनलगायत क्षेत्रमा लगानी गरेका तथा गर्न चाहने व्यवसायीलाई ब्याजमा अनुदान दिने कार्यक्रम ल्याइएको नरप्रमुख विमला राईले जानकारी दिइन् ।
“बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय गर्न चाहने नगरवासीका लागि तीन वर्षे ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्न कार्यविधि बनाएका छौँ । लगानी अभावका कारण धेरै नगरवासी बेरोजगार रहेका छन् । यसले उनीहरूलाई स्वरोजगार हुने अवसर मिल्ने विश्वास लिएका छौँ”, उनले भनिन्,“व्यवसाय सञ्चालनका लागि बैङ्क तथा बित्तीय संस्थाबाट नगरवासीले लिएको रू पाँच लाखसम्मको ऋणको ब्याज अनुदानको रूपमा नरपालिकाको तर्फबाट तीन वर्षसम्म तिरिदिन्छौँ । यो कार्यक्रममा महिला, एकल महिला, दलित र वैदेशिक रोजगारीबाट फर्केका नगरवासीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।”
व्यवसाय सञ्चालन गर्न चाहने तथा गरिरहेका नगरवासीले बैङ्क तथा बित्तीय संस्थाको सम्पूर्ण प्रक्रिया पूरा गरेर सम्झौताका लागि नगरपालिकामा सम्पर्क गर्नुपर्ने नगर कार्यपालिकाबाट पारित कार्यविधिमा उल्लेख छ ।
नगरपालिकाले पहिलो पटक ब्याज अनुदान कार्यक्रम लागू गरेपछि यसअघि लगानी अभावका कारण व्यवसाय सञ्चालन गर्नबाट वञ्चित बनेका नगरवासी हर्षित भएका छन् ।
नगरपालिकाले सञ्चालन गरेको ब्याज अनुदान लिएका व्यवसायीले व्यवसाय सञ्चालन गरेनगरेको बारेमा अनुगमनसमेत गरिने नगर प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
“धेरै मानिसले अनुदान लिनका लागि मात्र कार्यक्रम गर्ने परिपाटी चलिआएको छ । यो कार्यक्रममा त्यस्तो हुन दिँदैनौँ”, उनले भने,“भर्खँदै नगर कार्यपालिकाबाट पारित गरेर लागू गरिएको ब्याज अनुदान कार्यक्रम हेर्ने छुट्टै समिति बनाएका छौँ । अनुगमन समितिले कार्यक्रम सम्झौता गरेदेखि सञ्चालन गरेनगरेको बारेमा पटकपटक स्थलगत अनुगमन गरेर नगरपालिकालाई प्रतिवेदन दिन्छ । त्यसको आधारमा कारबाही गर्छौँ ।”
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसमेत रहेको नगरपालिकाले स्थानीय व्यवसायीका लागि ब्याज अनुदान कार्यक्रम लागू गर्नुलाई निक्कै महत्त्वका साथ हेरिएको छ ।
नगरपालिकाले ब्याज अनुदान कार्यक्रम लागू गरेसँगै हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा व्यवसायीको सङ्ख्यासमेत वृद्धि हुने स्थानीयवासीले बताएका छन् ।
सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीयवासीका लागि नगरपालिकाले यसअघि पनि विभिन्न कार्यक्रममा अनुदान उपलब्ध गराउँदै आएको छ ।
कृषि व्यवसाय बाहेक आम्दानीको अन्य स्रोत नहुने स्थानीयवासीलाई लक्षित गरेर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यसहित नगरपालिकाले कपास, गहत र बदाम खेती गर्ने कृषकका लागि अनुदान दिँदै आएको हो ।