महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरू र बैंक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।