सहकारी पीडितका मुद्धा समाधान तथा दोषीलाई कारबाहीका गर्न रास्वपाले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी पीडितका मुद्धा समाधान तथा दोषी उपर अबिलम्ब कानूनी कारबाहीका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधवार विज्ञप्ति जारी गर्दै रास्वपाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । कार्यवाहक प्रवक्ता मनिष झाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘सहकारी पीडितका मुद्धा समाधान तथा दोषी उपर अबिलम्ब कानूनी कारबाहीका लागि प्रभावकारी कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’
‘आम नागरिकको पाइपाइ गरेर जम्मा गरेको बचतथ रकम फिर्ताको विशुद्ध उद्धेश्यले आफ्ना आवाज बुलन्द गर्ने नागरिकको नैसर्गिक अधिकार हो,जारी विज्ञप्तिमा भनिएको छ,‘पीडित सर्वसाधारण नागरिकका हक प्राप्तिमा प्रभावकारी कदम चल्नुको सट्टा उठेको आवाज दबाउने कार्य सरकारको अधिनायकवादी कदम हो । यसले सरकार नागरिकका समस्याप्रतिको असंवेदनशीलता प्रदर्शन गरेको छ ।’
यस्तै रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विषयमा छानबिन गर्न समेत माग गरेको छ । ‘प्रधानमन्त्री ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरू समेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरिएको छ,’जारी विज्ञप्पितमा भनिएको छ ।
केही दिन अघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै एक भिडिओ सार्वजनिक गरेका थिए ।
सोही प्रकरणको विषयलाई लिएर अहिले प्रसाईं प्रहरीको हिरासतमा छन् । उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।