स्थानीय तह उपनिर्वाचन : ३१ जनाले लिए उम्‍मेदवारी फिर्ता,५ दलले उम्मेदवारी नै दर्ता गराएनन्

तीन जना निर्विरोध निर्वाचित

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन गरेका मध्‍ये ४ सय ७ जनामध्ये ३१ जनाले उम्‍मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले बुधवार साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार ३१ जनाले आफ्नो उम्‍मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन हुने तीन स्थानमा तीन जना निर्विरोध निर्वाचित भएका जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगकी प्रवक्त निता पोखरेल अर्यालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमश नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुलं) निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी स्थानीय तह उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्‍ये हाम्रो नेपाल पार्टी, नेपाल कम्‍युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वी.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा दलले कुनै पनि रिक्त पदका लागि उम्‍मेदवारी दर्ता नगराएको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर ६ देखि १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्नेछन् । मङ्सिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *