टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
काठमाडौं । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो ।
राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली संगठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य संख्यामा टोरन्टोमा रहेका नेपाली प्रवासीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो ।
उक्त दूतावासले जारी गरेको विज्ञप्तिअनुसार एक वर्षमा ‘ग्रेटर टोरन्टो एरिया’मा दुईवटा शिविर सञ्चालन गरेर प्रवासी नेपालीलाई सेवा दिएको थियो । ग्रेटर टोरन्टो एरियामा प्रवासी नेपालीका संख्या ठूलो छ । त्यहाँ सञ्चालन भएको यो तेस्रो शिविर हो । यसअघि दूतावासले एडमन्टन, भ्यानकुभर, ह्यालिफ्याक्स र क्यालगरी सहरमा पनि यस्तै शिविरमार्फत सेवा प्रवाह गरेको थियो ।