अर्बपति गौतम अदानीमाथि अमेरिकामा जालसाजीको अभियोग
काठमाडौं । भारतीय अर्बपति गौतम अदानीलाई अमेरिकामा जालसाजीको अभियोग लगाइएको छ । उनीमाथि २५ करोड अमेरिकी डलर बराबरको घूस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप लागेको हो ।
न्यूयोर्कमा उनीविरुद्ध बुधवार त्यससम्बन्धी आपराधिक मामिलामा अभियोगपत्रहरू दर्ता भएका छन् । भारतका सबैभन्दा धनी व्यक्तिमध्येका एक ६२ वर्षे अदानीमाथि लागेको यो पछिल्लो गम्भीर आरोप हो । उनले व्यापार- व्यवसायको साम्राज्य खडा गरेका छन् र ती व्यापारहरूमा बन्दरगाह र विमानस्थल निर्माण तथा सञ्चालनदेखि नवीकरणीय ऊर्जाको विस्तारसम्म फैलिएका छन् ।
उनीविरुद्धको अभियोगमा अभियोजनकर्ताहरूले अदानी र अन्य वरिष्ठ कार्यकारीहरू २० वर्षमा २ अर्ब अमेरिकी डलर बराबरको नाफा कमाउने अपेक्षा गरिएको नवीकरणीय ऊर्जा कम्पनीको ठेक्का पाउनका लागि भारतीय अधिकारीहरूलाई घूस दिन सहमत भएको आरोप लगाएका छन् । यसबारे अदानी समूहलाई टिप्पणीका लागि अनुरोध गरिएको भए पनि उक्त समूहले हालसम्म प्रतिक्रिया दिएको छैन ।
विभिन्न कम्पनीहरूको एउटा ग्रुप बनाएर अमेरिकामा चलिरहेको उक्त समूह सन् २०२३ देखि शङ्काको घेरामा रहँदै आएको छ । त्यस बेला एउटा उच्च प्रतिष्ठित कम्पनीले जालसाजी गरेको आरोप लगाउँदै एउटा प्रतिवेदन सार्वजनिक गरेपछि त्यसले अदानी समूहमाथि शङ्का उत्पन्न गराएको हो । उक्त प्रतिवेदनमा गरिएका दाबीहरूलाई अदानीले अस्वीकार गरेका थिए र त्यहाँ उनको ठूलो बजार हिस्सा तत्कालै बिक्री भएको थियो । घूस दिएको भनिएको उक्त प्रतिवेदन महिनौँदेखि यताबाट उता र उताबाट यता भइरहेको छ ।
अदानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगीका रूपमा चिनिन्छन् । डोनाल्ड ट्रम्पले चुनाव जितेको केहीपछि उनले अमेरिकी न्याय मन्त्रालयमा फेरबदल गर्ने वाचा गरेको पृष्ठभूमिमा अदानीविरुद्ध पनि अभियोगपत्र दर्ता गरिएको हो । बीबीसी