भोली काठमाडौंमा एमाले सहित सहकारी पीडित र दुर्गा प्रसाईं पक्षको प्रदर्शन
बनाइयो सुरक्षा योजना
काठमाडौं । शुक्रबार काठमाडौंका विभिन्न तीन स्थानमा प्रदर्शन हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले सहित सहकारी पीडित र दुर्गा प्रसाईं पक्षले विभिन्न स्थानमा एकैसाथ प्रदर्शन गर्न लागेका हुन् ।
नेकपा (एमाले)ले जागरण सभा गर्न लागेको छ। एमालेले र्याली निकालेर काठमाडौंको दरबारमार्गमा सभा गर्न लागेको हो । सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । देशमा बढिरहेको अराजकता विरुद्ध प्रदर्शन गर्न लागेको एमालेले जनाएको छ ।
यसैगरी काठमाडौंको माइतीघरमा पनि भोली प्रदर्शन हुने भएको छ । यहाँ सहकारी पीडित लगायतले प्रदर्शन गर्न लागेका हुन् । सहकारी पीडितले बचत फिर्ताको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।
मेडिकल व्यवसायी प्रसाईं पक्राउ परेपछि प्रसाईं पक्षधरले प्रदर्शन गर्न लागेको हो । प्रसाईं हाल विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा प्रहरी हिरासतमा छन् । तर,उनको पूर्व निर्धारित प्रदर्शन हुन लागेको बताइएको छ । प्रसाईं पक्षधरले काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्न लागेको हो ।
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन सुरक्षा योजना समेत बनाइएको छ ।