ओभरटेक गर्न खोज्दा दुई बाइक ठोक्किए, तीन जनाको मृत्यु

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका-५ का ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका-४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ, र सोही ठाउँका २८ वर्षीय अमृत लिम्बूको ज्यान गएको हो ।

दुर्घटनापछि धिमाललाई उर्लाबारीको अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । लिम्बूलाई भने झापाको बी एन्ड सी अस्पतालमा उपचारका लागि लगिएको थियो। प्रहरीका अनुसार धिमाल र गुरुङको अस्पताल पुर्‍याउँदा नै मृत्यु भएको थियो भने लिम्बूको उपचारका क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो । प्रदेश १-०२-०५० प ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारीलाई ओभरटेक गर्ने प्रयास गर्दा विपरीत दिशाबाट आएको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका पथरीशनिश्चरे-५ का ३० वर्षीय विष्णु धिमालको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *