निम्तो पाएर पनि कम्बोडिया गएनन् दुई माओवादी नेता
काठमाडौं – सत्तारुढ कांग्रेस-एमालेका नेताहरु कम्बोडिया आयोजित कार्यक्रममा सहभागी हुँदा माओवादी केन्द्रका नेता भने अनुपस्थिति भएका छन् । इन्टरनेशनल कन्फ्रेन्स अफ एशियन पोलिटिकल पार्टी (ICAPP) को कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको सहभागिता देखिएको छ । तर, माओवादी केन्द्रका नेताहरू भने निमन्त्रणा पाएर पनि सहभागी भएका छैनन् ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र केन्द्रीय सदस्य गोकर्ण भट्ट सहभागी हुने तय भए पनि अन्तिम समयमा उनीहरूले भ्रमण रद्द गरेका छन् । माओवादी नेताहरूले उपनिर्वाचनको तयारीलाई प्राथमिकता दिँदै सम्मेलनमा सहभागी नहुने निर्णय गरेका हुन् । जनतामाझ उपस्थित भई काम गर्ने कुरालाई कार्यक्रमको उपादेयताभन्दा महत्वपूर्ण ठानिएको बताइएको छ ।
यसपटकको सम्मेलनमा “डिजिटल युगमा भ्रामक समाचार” (Fake News in Digital Era) विषयमा विशेष छलफल हुने तय गरिएको छ । छलफलमा, डिजिटल माध्यममा फैलिने झूटा समाचारले उत्पन्न चुनौतीहरू, शान्ति र मेलमिलापमा यसको प्रभाव, र राजनीतिक दलहरूले यसलाई कसरी सामना गर्न सक्छन् भन्नेबारे गहन बहस हुने अपेक्षा गरिएको छ ।
नेकपा एमालेका नेता राजन भट्टराईले नेपालबाट १३ जना प्रतिनिधिहरू सहभागी हुने जानकारी गराएका छन् । उनी स्वयं ICAPP को स्थायी समिति सदस्य हुन् । कांग्रेस, एमाले, र केही अन्य दलका नेताहरूको उपस्थिति रहेको यस कार्यक्रममा कीर्तिपुर क्षेत्रको निर्वाचन तयारीमा सक्रिय अग्नि सापकोटा भने अनुपस्थित छन् ।