सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिबद्ध छ : कृषिमन्त्री
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीलाई मुलुकको प्रमुख आम्दानीको स्रोतको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
शुक्रवार २० औँ राष्ट्रिय कफी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले निजी क्षेत्रका लगानीकर्ताहरूलाई कफी खेतीतर्फ आकर्षित गर्न सरोकारवालाहरूसँग आग्रह गरेका हुन् ।
उनले कफी खेती गर्ने कृषकलाई उत्साहका साथ खेतीमा लाग्न आग्रह गर्दै सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिबद्ध बताए । उनले मध्यपहाडमा रहेको बाँझो जमिनमा कफी खेती बढाउनसके देशको अर्थतन्त्र उकास्नका लागि महत्वपूर्ण सहयोग मिल्ने बताए । उनले जलवायु परिवर्तनको असरका बाबजुद नेपाली कफीले पाएको अन्तर्राष्ट्रिय बजारबाट सन्तुष्ट हुनुपर्ने बताए । आर्थिक स्रोतको अभावमा देशको विकास नभइरहेको भन्दै कफी खेती देशको अर्थतन्त्रको मुख्य स्रोत बन्नसक्ने उनको विश्वास थियो ।
मन्त्री अधिकारीले भने ‘नेपाली कफीको उत्कृष्टता र भविष्यमा यसको सम्भावनाको बारेमा सोच्ने, योजना बनाउने र प्रेरणा प्राप्त गर्ने दिन भएको कारणले यस दिनमा कफी राष्ट्रिय महासंघ लगायतका संस्थाहरूले कफी उत्पादन जोगाउन आवश्यक छ । जलवायु परिवर्तनको असरका बाबजुद नेपालको अराबिका कफीले अन्तर्राष्ट्रिय रूपमा जुन बजार पायो यसमा सन्तुष्ट हुनुपर्ने कारणहरू छन् । कफी खेती गर्ने कृषकहरू उत्साहका साथ खेती बढाउनमा लाग्नुस् । कुनै समय देशभित्र नै व्यापार कम हुने कफी आज जर्मनी, अमेरिका र जापान जस्ता विश्वका विकसित मुलुकहरूमा पुगेको छ भन्ने कुरामा गर्व गर्नुपर्दछ । कफीको विकासका लागि नेपाल सरकार, कृषि मन्त्रालयको तर्फबाट सुधारका लागि हामीले के के गर्नुपर्याे ? तपाईँहरू सुझाव दिनुस् । हामी कफी खेतीको विकासका लागि गर्नुपर्ने कामका लागि प्रतिबद्ध छौँ । हामी कृषक साथीहरूले अन्य नागरिकलाई समेत कफी खेती गर्नका लागि आह्वान गरौँ । निजी क्षेत्रका लगानीकर्ताहरूलाई कफी खेतीबाट हुने मुनाफाबारे जानकारी दिएर आकर्षित गर्नसक्छौं भनेर बुझाउनुस् । पछिल्लो समय नेपाल सरकारले मध्यपहाडी भेगमा बाँझो जमिन धेरै भयो मान्छेहरूको बस्ती स¥यो अब के गर्न सकिन्छ भनेर मन्त्रिपरषद्मा कुरा उठाएका छौँ । त्यो बाँझो रहेको जग्गा र अराबिका कफी उत्पादन गर्न सकिने अन्य ठाउँहरूमा भूमिसुधार मन्त्रालय, जलस्रोत मन्त्रालय र कृषि मन्त्रालय मिलेर त्यसको व्यवस्थापन गर्नसक्दा हामीले राम्रो मुनाफा कमाउन सक्ने स्थितिहरू रहन्छ । यसमा काम गर्नेगरी योजना बनाइरहेका छौँ । बाँझो जमिनमा कफी खेती बढाउन सक्यौँ भने देशको अर्थतन्त्र उकास्नका लागि महत्वपूर्ण सहयोग मिल्छ । पैसा नभएर देशको विकास हुन सकेन भनिरहेको अवस्थामा आम्दानीको प्रमुख स्रोतको रूपमा कफी खेती बनोस् । त्यसका लागि मैले सम्हालेको मन्त्रालयको तर्फबाट मैले के भुमिका निर्वाह गर्नुपर्छ त्यो सबै भुमिका निर्वाह गर्नका लागि म सधैँ तयार रहेको कुरामा प्रतिबद्ध छु ।’
आउँदो आर्थिक वर्षको बजेटको समय नजिकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले व्यवसायीहरूको सुझावको आधारमा कफी खेतीको योजनालाई बजेटमा समावेश गर्ने आश्वासन दिए ।