सरकारको नेतृत्वकर्ता दल सडकमा

एमालेको प्रदर्शन : डेलिभरी दिने की प्रतिपक्षलाई ‘काउण्टर’ ?

सत्ता गठबन्धनकै शीर्ष दल कांग्रेसले जनायो असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले काठमाडौंमा प्रदर्शन गरेको छ । ‘जागरण सभा’ का नाममा नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा शुक्रवार प्रदर्शन गरेको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेल लगायत नेताहरुले सम्बोधन गरे । नेकपा एमाले सरकारको नेतृत्वकर्ता दल हो ।

संसदका दुई ठूला दल (नेपाली कांग्रेस र नेकपा एमाले) मिलेर गत असार ३० गते करिब दुई तिहाईको बहुमत सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बने ।

सरकार गठन भएको चार महिनामै  सरकारविरुद्ध आक्रोश बढ्दो छ । सामाजिक सञ्जालदेखी सडकसम्म ओली नेतृत्वको सरकारको आलोचना भइरहेको छ ।

सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्ष दल सरकार विरुद्ध सडक आन्दोलनमा उत्रिएका छन् । गत कार्तिक १० गते प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले काठमाडौंमै सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।

माओवादी केन्द्रले सरकारले गरिरहेको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै खबरदारी सभा गरेको थियो । विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदशनशीलता,गैरजिम्मेवारीपन,भ्रष्टाचार नियन्त्रणमा कमजोरी लगायतका कारणहरु देखाउँदै माओवादी केन्द्रले भृकुटीमण्डपमा प्रदर्शन गरेको थियो । सरकारविरुद्ध रास्वपा समेत सडक आन्दोलनमा छ ।

केही दिनअघि मात्रै कम्बोडियाको एक टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब रुपैयाँ लगानी रहेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले एक भिडिओ सार्वजनिक गरेका थिए । भिडिओ सार्वजनिक गरेको भोलीपल्ट नै उनी पक्राउ परे । अहिले उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सरकार गठन गर्ने क्रममा आम जनतामा व्याप्त निराशालाई चिर्दै सुशासन,भ्रष्टाचार नियन्त्रण,विकास,समृद्धिलाई प्राथमिकतामा राखेर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार ढाल्दै ओली नेतृत्वको सरकार गठन भएको थियो । तर,सरकार गठन भएको चार महिनामै सरकारको नेतृत्वकर्ता दल(नेकपा एमाले) सडकमा उत्रिनुपरेको छ ।

मुलुकमा बढेको अराजकता विरुद्ध,सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने उद्धेश्यले जागरण सभाको आयोजना गरेको नेकपा एमालेले जनाएको छ ।

शुक्रवार नेकपा एमाले काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला कमिटिले संयुक्त रुपमा आयोजना गरेको जागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले समाजमा अराजकता मच्चाउने किसिमका क्रियाकलापहरु भएपनि त्यसबाट जनता भ्रमित नहुने बताए ।

प्रधानमन्त्री ओलीले आफुहरु युद्ध नभएर शान्तीको पक्षमा रहेको उल्लेख गर्दै आफुमाथि लागेका आरोप खण्डन गर्न लायक समेत नरहेका बताए ।

उनले कम्बोडियाको टेलिकममा आफ्नो लगानी नरहेको समेत प्रष्ट पारे । त्यसक्रममा प्रधानमन्त्री ओलीले अहिले लोकप्रियतावादका नाममा ढाँटबाद चलिरहेको बताए । देश हाँक्न आफुहरुसंग सही नीति रहेको समेत उनले बताए ।

सरकारको नेतृत्वकर्ता दल नै सडकमा उत्रिएपछि अहिले विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । सरकारको नेतृत्वकर्ता दल नै सडक प्रदर्शनमा उत्रिएपछि एउटा प्रश्न सिर्जना भएको छ-सरकारले जनतालाई डेलिभरी दिने की प्रतिपक्षलाई ‘काउण्टर’ ? ।

सरकारकै नेतृत्व गरेको दलका नेताहरु सडकमा उत्रिएपछि अन्य दलहरुले आलोचना गरेका छन् । नेकपा एमालेले गरेको प्रदर्शनप्रति सत्ता गठबन्धनमै रहेको शीर्ष दल नेपाली कांग्रेस पनि सन्तुष्ट छैन । सरकारमा रहेको दलले जनतालाई डेलिभरी दिनुपर्नेमा सडकमा उत्रिनु स्वभाविक नभएको दलहरुले बताएका छन् ।

सत्ता गठबन्धनको शीर्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे सरकारमा रहेको दलले सडक प्रदर्शन गर्नु स्वभाविक नभएको बताउँछन् ।

‘सत्तारुढ दल त्यो पनि प्रधानमन्त्रीको दलले अहिले सडक प्रदर्शन गर्न आवश्यक थियो की थिएन भन्ने एउटा गम्भीर प्रश्न हो । सडक प्रदर्शन आवश्यकता हो अथवा होइन भनेर एमालेले नै बुझ्नुपर्ने कुरा हो’ प्रमुख सचेतक घिमिरेले भने । सामान्यतया संसदीय अभ्यासमा सत्ताको नेतृत्व गरिरहेको दलले सडक प्रदर्शन गर्न नहुने उनले बताए ।

‘सामान्यतया संसदीय अभ्यासमा सत्ताको नेतृत्व गरिरहेको दलले सडक प्रदर्शन गर्ने गरिन्न । अब उहाँहरुले किन गर्नु भो ? के-का लागि गर्नु भो ? त्यसको जवाफ मैले भन्दा उहाँहरुले नै दिनु उचित हुन्छ । सत्ताकै नेतृत्वकर्ता दलले सडक प्रदर्शन गर्ने प्रचलन संसदीय अभ्यासमा छैन,’मकालुखबरसंग उनले भने ।

अराजकता विरुद्ध सन्देश दिने विभिन्न उपायहरु रहेको बताउँदै प्रमुख सचेतक घिमिरेले भने,‘मिडिया छन्,प्रधानमन्त्रीले सन्देश नै जारी गर्न सक्नुहुन्छ । पार्टीले पनि सन्देश जारी गर्न सक्छ,धेरै उपायहरु छन् नी अहिले मिडियाको युग हो,अब त्यसमा सडक प्रदर्शन नै गर्नुपर्छ जस्तो लाग्दैन,मेरो आफ्नो धारणा हो ।’

अहिलेको आवश्यकता सडक प्रदर्शन नरहेको चर्चा गर्दै उनले भने,‘अहिले आवश्यकता भनेको देशको आर्थिक अवस्थालाई कसरी माथि उठाउन सकिन्छ भन्ने तर्फ सम्पूर्ण शक्ति लगाउनुपर्ने छ । सरकारको काम भनेको देखिएका कमीकमजोरीलाई सुधार गर्दै देशमा एउटा आर्थिक विकासको वातावरण निर्माण गर्ने हो । आजको आवश्यकता भनेको त्यो हो,अब हामी आफैं सडक प्रदर्शन गर्दै हिँड्ने भन्ने कुरा चाहीँ कति उपयुक्त हो त्यो उहाँहरुले आफैं निर्णय गर्नुपर्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले डेलिभरी दिनुपर्ने सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले आफैं सडकमा आउनु स्वभाविक नभएको बताए ।

नेकपा माओवादी केन्द्रले गत कार्तिक १० गते गरेको खबरदारी सभालाई काउण्टर दिनका लागि एमालेले प्रदर्शन गरेको भएपनि सफल भने हुन नसकेको सांसद सापकोटाले बताए ।

सरकारको काम जनतालाई डेलिभरी दिने,परिणाम दिने, आशा जागृत गर्ने भएको बताउँदै सांसद सापकोटाले मकालुखबरसंग भने,‘सडकमा जाने भनेको त कहीँ न कहीँ खबरदारी गर्न,विरोध प्रदर्शन गर्न,आफ्ना अभिमत सडकमार्फत अभिव्यक्त गर्न हो । तर,आफै सरकारमा बसेर यस प्रकारका गतिविधि स्वभाविक देखिएन । सरकारले कसको विरोध गर्ने प्रतिपक्षको ?’

पछिल्लो समय भइरहेका अराजक गतिविधिविरुद्ध जनतालाई सन्देश दिनका लागि एमालेले जागरण सभा गरेको हो नी भन्ने प्रश्नमा उनले भने,‘मूल बाटो बन्द गरेर,संयौं सटरहरु बन्द गरेर के सन्देश दिनु भो त ?,कुनै खुल्ला मञ्चहरुतिर,टुँडिखेलतिर या कुनै चौरहरुतिर गएर गरेको भए हुन्थ्यो नी त । व्यापारीहरुका दर्जनौँ सटर बन्द गरेर,मूल सडक अवरुद्ध गरेर के सन्देश दिने ? अनी के चाहीँ अराजकतालाई च्यालेन्ज हुने ? त्यसैले सरकारमा त उहाँहरु हुनुहुन्छ । सबै साधनश्रोत राज्यशक्ति छ,अराजकतालाई त त्यहीँबाटा पो उहाँहरुले कन्ट्रोल गर्नुपर्ने हो । खासगरी माओवादीले गएको १० गते जुन शक्ति प्रदर्शन गर्‍यो,त्यो शक्ति प्रदर्शनको उहाँहरु काउण्टरमा आउनु भएको हो हाम्रो बुझाइमा । तर,सरसर्ती हेर्दा उहाँहरुले सोचेजस्तो जनताको समर्थन पनि प्राप्त गर्नु भएन । यो चाहीँ नेकपा एमालेका लागि ‘व्याक फायर’ हो भन्ने बुझेको छु मैले ।’

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकारको नेतृत्वकर्ता दल सडकमा आउनु स्वभाविक नभएको बताएको छ । जागरण सभा सरकारको नेतृत्व गरिराखेको दललाई आवश्यक नरहेको उल्लेख गर्दै कार्यक्रमको औचित्यमै प्रश्न रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । उनले नेकपा एमालेले आयोजना गरेको कार्यक्रम जागरण सभा नभई शक्ति प्रदर्शन भएको उनी बताउँछन् ।

सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेको दलहरुलाई आफ्नो कार्यकर्ता ओरालेर नेकपा एमालेले जनसाधारणको दैनिकीलाई दु:ख दिने काम मात्रै गरेको कार्यवाहक प्रवक्ता झाले मकालुखबरलाई बताए ।

नेपालकै प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा शक्ति प्रदर्शन गर्नुको कुनै राजनीतिक औचित्य नरहेको उनले बताए । कार्यवाहक प्रवक्ता झाले प्रधानमन्त्री ओलीमाथि उठिरहेको प्रश्नको जवाफ दिनका लागि प्रष्टीकरणका लागि मञ्च खडा गरिएको बताए । एमालेले गरेको प्रदर्शन गैर राजनीतिक क्रियाकलाप रहेको समेत झाले बताए ।

‘उहाँ (केपी शर्मा ओली) माथि उठिराखेको प्रश्नको जवाफ दिनलाई नेकपा एमालेको अहिलेको सरकारको अकर्मणयताको जवाफ सहित प्रष्टीकरण दिनका लागि मञ्च खडा गरिएको हो । त्यो मञ्च जनतालाई चाहिएकै थिएन,कार्यवाहक प्रवक्ता झाले भने, ‘बाढीपीडित,भूकम्प पीडितलाई अहिलेसम्म केही गर्न नसकेको,उत्तर दक्षिण संगको सन्तुलन सम्बन्ध राख्न नसकेको,बजारलाई चलायमान गर्न नसकेको यो सबै कुराहरु हामीले देखिराख्दै गर्दा सरकारप्रति धेरै असन्तुष्टि,धेरै प्रश्नहरु छ,त्यसको जवाफ दिनलाई उहाँले एउटा मञ्च बनाउनु भएको मात्र हो ।’

अरुले गरेको विरोध प्रदर्शनलाई अराजकता भनिए व्यापारिक केन्द्रमा आएर शक्ति प्रदर्शन गर्ने एमाले झन् ठूलो अराजक भएको उनको भनाई छ ।

प्रकृतिले सबैलाई सधैं संगै नराख्ने बताउँदै उनले भने,‘लोकतन्त्रले सबैलाई सधैं सत्तामा राख्दैन । त्यसलै गर्दा नेताहरुले त्यो कुरा सम्झेर आफुले पाएको अवसरलाई प्रयोग गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *