एमालेको जागरण सभाले वातावरण प्रदूषण भएपछि बालेनले गराए १ लाख जरिवाना
काठमाडौं । नेकपा एमालेले आज आयोजना गरेको जागरण सभाले वातावरण प्रदूषण भएको भन्दै काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गराएको छ ।
काठमाडौं महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् ।
‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१,००,००० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,’काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमाले पार्टी कार्यालयका नाममा लेखेको पत्रमा उल्लेख छ ।