बालेनले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेपछि युवा नेता महेश बस्नेतले मेयर बालेन शाहमाथि तीव्र आलोचना गरेका छन् । बस्नेतले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले नेकपा एमालेबाट १ लाख जरिवाना तिराउने निर्णयलाई ‘भिख मागेको’ आरोप लगाएका हुन् ।
महानगरपालिकाले एमालेको काठमाडौंमा भएको कार्यक्रममा सार्वजनिक स्थानको सफाइ खर्च स्वरूप जरिवाना निर्धारण गरेको थियो । यस निर्णयलाई बस्नेतले सकारात्मक र नकारात्मक दुवै कोणबाट विश्लेषण गरेका छन्।
सकारात्मक कोण
बस्नेतका अनुसार, एमालेको सभा अन्य सभाभन्दा अभूतपूर्व भएको कारणले सफा गर्न पनि विशेष प्रबन्ध गर्नुपरेको र मेयर बालेनलाई १ लाख माग्नुपरेको बताइएको छ । बस्नेतले व्यंग्य गर्दै भने, ‘काठमाडौँमा हुने सयौं जुलुसभन्दा एमालेको सभा विशेष भयो, जसका कारण बालेनलाई जरिवाना स्वरूप १ लाख भिख माग्नुपर्ने अवस्था आयो ।’
नकारात्मक कोण
बस्नेतले मेयर बालेनमाथि एमालेप्रति गहिरो डर रहेको आरोप लगाए । उनले लेखेका छन्, ‘बालेनलाई यति धेरै एमाले फोबिया छ कि उनले यसको सामना गर्न नसकी कमजोर मानसिकता प्रदर्शन गरिरहेका छन् । यो अवस्था दन्ते कथाको राजकुमारजस्तै हो, जसले किताबमा बाघको चित्र हेरेरै मृत्यु भोग्यो ।’
महानगरपालिकाको यो कदमलाई राजनीतिक रंगमा चित्रित गर्दै बस्नेतले बालेनलाई एमालेप्रति पूर्वाग्रही भएको आरोप लगाए । यस विषयमा मेयर बालेनको तर्फबाट औपचारिक प्रतिक्रिया भने आएको छैन । एमालेले भने यो कदमलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको बताएको छ ।