‘घर चलाउन, घरै छाड्नुपर्‍यो’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो रहरभन्दा बाध्यताले देश छाड्नेको बाक्लै ताँती हुन्छ । मन भारी बनाएर विदेश उड्ने लाइनमा रहेका उनीहरुका आ-आफ्नै कथा-व्यथा हुन्छन् । जहाँ युवाहरुमात्रै हुँदैछन्- अधबैँसे र सन्तानका आमाहरु पनि भेटिन्छन् ।

कतिपयलाई त सन्तान छोडेरै सन्तानको सुन्दर भविष्यको लागि विदेसिनु परेको छ । झापाकी रुपा गिरी सात वर्षीय छोरा माइत छाडेर मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नुप-यो ।’ घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ थियो ।

कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमान्को कमाइले परिवार चलाउन सकेनन् । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताइन् । ‘सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र’, उनले भनिन्, ‘मुटुमा ढुंगा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।’

गिरीसँगै कामदारका रुपमा विदेश जान ८ महिला तयार थिए । ती सबै आमाहरु थिए । त्यही लहरमा भेटिएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफ छोटोमा दिइन्, ‘जे त होला ।’

तामाङले ५ कक्षासम्म मात्रै पढेकी छन् । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकांक्षा नरहेको उनको भनाइ छ । ‘यो मेरो बाध्यता हो’, उनी भन्छिन्, ‘छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो ।’

तामाङका श्रीमान् सवारी चालक छन् । सुकुम्बासी बस्तीमा बस्ने उनीहरुको जग्गा जमिन छैन । घर चलाउन श्रीमान्लाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखिएपछि उनले आफैँ विदेसिने निधो गरेकी हुन् । ‘नेपालको कमाइले पुग्दैन । महँगी छ । त्यसैले विदेसिनुको विकल्प देखिनँ’, उनले भनिन् ।

स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुन् । श्रीमान्ले काम नगर्ने, जाँड रक्सी खाएर कुटपिट गर्ने गरेपछि उनले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आएकी थिइन् । छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो । श्रीमान्लाई फकाएर मलेसिया पठाइन् । विदेश गएका श्रीमान्ले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमान्ले न त पैसा पठाए न त फोन सम्पर्क नै । हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताइन् । ‘विदेश गएको श्रीमान्ले एक सुको पठाएन, वास्तै गरेन’, उनले भनिन्, ‘छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदसिन लागेकी हुँ ।’

वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्यांकमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२ दशमलव तीन प्रतिशत, १८ देखि २४ उमेरका ३२ दशमलव तीन प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४ दशमलव छ प्रतिशत र ४५ देखि माथिका शून्य दशमलव आठ प्रतिशत उल्लेख छ ।

विभागकाअनुसार बर्सेनि ६० हजार हाराहारीको संख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए । आर्थिक वर्ष २०८०/८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या वृद्धि भई ८० हजार पुगेको छ ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले तुलनात्मक रुपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो तथ्यांकले रोजगारका लागि विदेश जानेक्रम बढ्दो अवस्थामा रहेको बताए । उनका अनुसार खाडी मुलुक जाने महिलाको संख्यामा क्रमशः वृद्धि भइरहेको छ । ‘अधिकांश महिला साउदी, मलेसिया, कुबेत, कतार, यूएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ’, प्रवक्ता ढकालले भने, ‘त्यसमा पनि श्रम स्वीकृति नलिइ लुकेर जानेहरुको तथ्यांक पाउन मुस्किल छ ।’

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताउँछिन् । आयोगले एक वर्षअघि गरेको तथ्यांकको विश्लेषण गर्दै उनले भनिन्, ‘आमा नहुँदा घर परिवार लथालिंग भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *