क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन उपहार (तस्बिरहरू)
काठमाडौँ । चीन सरकारले काठमाडौँको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ ।
शनिवार नेपालका लागि चिनियाँ राजदूत छन् सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन् ।
विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदूत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरूको ठुलो भूमिका रहेको उल्लेख गर्दै सहयोग लागि चीन सरकारलाई धन्यावाद दिए ।
उनले चिकित्सालयलाई अगाडि बढाउनका लागि निरन्तर सहयोगहरू आइरहेको उल्लेख गर्दै चिकित्सालयले टोलवासीलाई मात्र नभई काठमाडौँ जिल्लाभर सेवा बिस्तार गर्नुपर्ने बताए । उनले नागरिकको सेवामा प्रभावकारी भएर लाग्न चिकित्सालयका प्रतिनिधिहरूलाई निर्देशन समेत दिए ।
उनले भने ‘विश्वमा नै चर्चा भइरहेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरूको ठुलो भूमिका हुने भएकोले चीन सरकारले आज क्षेत्रपाटी चिकित्सालयलाई जुन गाडी उपलब्ध गराएको छ यसको लागि उहाँहरूलाई धन्यावाद दिन चाहन्छु । वातावरण स्वच्छ राख्न विद्युतीय गाडीको ठुलो महत्त्व छ । नेपालले सम्पूर्ण मित्र राष्ट्रहरूसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ भन्ने कुरा पनि आजको यस कार्यक्रमबाट पुष्टि भएको छ । यस चिकित्सालयलाई अगाडि बढाउनका लागि सहयोगहरू जसरी आइरहेको छ अगामी दिनमा अझ तीव्र रूपमा बढोस् भन्ने कामना गर्दछु । यस चिकित्सालयले टोलबासीलाई मात्र नभएर काठमाडौँको सम्पूर्ण उत्तर पश्चिमतिरको क्षेत्रका नागरिकका लागि सेवा बिस्तार गरोस् । सेवा सुविधालाई थप प्रभावकारी बनाओस् भन्ने शुभकामना दिन चाहन्छु । यसका लागि सबै लाग्नुहोस् ।’
उनले वि.स. २०१३ सालमा सामान्य उपचारबाट सुरु गरिएको चिकित्सालय आजको दिनसम्म आइपुग्दा अस्पतालको रूपमा विकास हुनु खुसीको कुरा भएको बताए ।
हेर्नुहोस् तस्बिरहरू :