विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक : राजदूत किकुता

काठमाडौं । नेपालका लागि जापानका राजदूत किकुता युताकाले विपद् उत्थान पूर्वाधार निर्माण गरेर विपद्बाट हुनसक्ने जोखिम एवं क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।

जापानिज युनिर्भसिटीज् एलुम्नाई एसोसिएसन नेपाल (जुआन)द्वारा आज आयोजित ‘जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको सम्बोधन स् जापान र नेपाल भोगाइ’ विषयक गोष्ठीमा उनले विपद्बाट हुनसक्ने जोखिम एवं क्षति कम गर्नका लागि जनचेतना अभिवृद्धि, पूर्व तयारी, विपद् उत्थान पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

गत मनसुनमा काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न ठाँउमा बाढी र पहिराले धेरै सडक अवरुद्ध हुँदा निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आकस्मिक रुटका रुपमा प्रयोग गरिएको स्मरण गर्दै राजदूत युताकाले विपद् उत्थान पूर्वाधार निर्माणबाट प्राकृतिक प्रकोपको समयमा राहत र उद्धारमा समेत सहयोग पुग्ने बताए ।

“जापान र नेपाल दुवै भूकम्पीय र हिमाली देश हुन् । दुवै देशले हरेक वर्ष जसो समान किसिमको प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ । यद्यपि, पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको प्रभाव भयावह बन्दै गएको छ”, राजदूत युताकाले भन्नुभयो, “विपद् प्रतिरोध पूर्वाधारको निर्माणसँगै पूर्वतयारी र जनचेतनाले यसबाट हुने क्षति कम गर्न सकिन्छ ।”

जुआनका अध्यक्ष डा सुनिल बाबु श्रेष्ठले विपद्को पूर्वतयारी, प्रारम्भिक चेतावनी प्रणाली र प्रकोप सामना गर्ने क्षमता अभिवृद्धिका लागि अपनाइने अभ्यासका विषयमा गोष्ठी आयोजना गरिएको जानकारी दिए । उनले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको जोखिमका विषयमा दीर्घकालीन समाधान खोज्न यस गोष्ठीले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *