एमाले पार्टी कार्यालयमा महानगरको टोली,१ लाखको जरिवाना पत्र बुझ्न अस्वीकार
काठमाडौं । यही मंसिर ७ गते नेकपा एमालेले आयोजना गरेको जागरण सभामा वातावरण प्रदूषण भएपछि महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ ।
आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवाना पत्र लेखेको थियो ।
‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१,००,००० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,’काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमाले पार्टी कार्यालयका नाममा लेखेको पत्रमा उल्लेख गरिएको थियो ।