सहकारी ठगी प्रकरण

लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकामा तेस्रो पटक १० दिनको म्याद थपिएर उनीमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

त्यस्तै यसअघि कार्तिक २५ गते १३ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । शुक्रवार म्याद सकिए पनि शनिवार सार्वजनिक बिदा भएकाले आइतबार लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ । रवि लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

लामिछाने र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालत तथा काठमाडौं जिल्ला अदालतले समेत पक्राउ पुर्जी जारी गरेको छ ।

उनलाई बयानका लागि काठमाडौं पुर्‍याउने तयारी प्रहरीले गरिरहेको छ । लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *