जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायातको पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जलवायुजन्य प्रकोपका कारण मुलुकका विभिन्न भागका सडक लगायतका भौतिक पूर्वाधारमा ठूल्ठूला क्षति भइरहेका बेला उनले सो आवश्यकता औंल्याएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित यातायात पूर्वाधारसम्बन्धि प्राविधिक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री दाहालले यातायातको पूर्वाधार निर्माणमा मुलुकलाई विज्ञहरुको आवश्यकता रहेको पनि स्पष्ट पारे ।

उनले वातावरणीय दृष्टिकोणबाट पनि अनुकुल हुनेगरी सडकलगायतका यातायात पूर्वाधार निर्माण गर्नका लागि सम्बन्धित क्षेत्रका विज्ञहरु हुनुपर्ने भएकाले सरकारले सोहीअनुसार अघि बढ्ने सोच बनाएको बताए ।

मन्त्री दाहालले भने, ‘इन्फास्ट्रक्चरमा इन्जिनियरिङ गरेका अथवा विज्ञता गरेकाहरुको हामीलाई आवश्यकता छ । र हाईड्रोलोजीमा विज्ञता गरेकाहरु पनि आवश्यक छ । र इन्भारोमेन्टल्ली पनि हामीले सोच्नुपर्नेछ । बाटाहरु बनाउने, सडक यातायातलाई व्यवस्थित गर्ने, यातायातका साधनहरुको सन्दर्भमा व्यवस्थित गर्ने इन्भारोमेन्टलाई मध्यनजर गरेर, क्लाईमेट चेन्जको ईस्युलाई पनि हामीले सम्बोधन गर्ने गरी सोच्नुपर्ने भएको छ ।’

मन्त्री दाहालले भौतिक पूर्वाधारको क्षेत्रमा खुलेर काम गर्नका लागि सरकारलाई बजेटको पनि अभाव रहेको दोहोर्‍याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *