‘नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन’– होजोन अटो
काठमाडौं । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।
होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो ।
‘हामी सुनिश्चित गर्न चाहन्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन । नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
होजोन अटोले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजनक रुपमा वितरण भईरहेको जानकारी दिँदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाकोतर्फबाट आभार व्यक्त गरेको छ ।
कम्पनीले उपभोक्ताको बिक्रीपछिको अनुभवलाई धेरै महत्त्व दिने जनाएको छ ।
नेपालको आधिकारिक बिक्रेता सिजी मोर्टस मार्फत बिक्री भएका गाडीहरूमा न्यूनतम १० वर्ष सम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाईनाले व्यक्त गरेको छ ।
नेपालका केही मिडियामा नेटा सम्बन्धी नकारात्मक समाचार आए लगत्तै होजोन अटोले विगतका समाचारहरूमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो ।
होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।