सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?
काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो ।
भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ । ‘भन्सार महसुल घटाउने निर्णयले सुनको मूल्य तोलामा करिब १५ हजार रुपैयाँले घट्नेछ,’ महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने, ‘एकैपटक समायोजन गर्ने वा केही दिनको अन्तरालमा गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंक र सरकारी निकायहरूसँग छलफलपछि निर्णय हुनेछ।’
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशत र चाँदीको महसुल १५ प्रतिशतबाट १० प्रतिशत पुर्याउने निर्णय गरेको थियो । यसअघि सुनमा तोलामा २९ हजार रुपैयाँ भन्सार महसुल लाग्दै आएकोमा अब १४ हजार रुपैयाँ मात्रै लाग्नेछ । यसले गर्दा सुनको मूल्य झण्डै १५ हजार रुपैयाँले घट्ने अनुमान गरिएको छ ।
चाँदीको मूल्य पनि भन्सार महसुल घटेसँगै समायोजन हुने महासंघले जनाएको छ । हाल (आइतबार) छापावाला सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ ।
सरकारको निर्णयले सुनचाँदीको व्यापार र उपभोक्ताको क्रयशक्तिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । मूल्य समायोजनको मिति र प्रक्रियाबारे थप जानकारी छिट्टै सार्वजनिक हुने अनुमान छ ।