नौकिलो ट्रक दुर्घटना ज्यान गुमाउने तीन जनाको परिचय खुल्यो (अपडेट)
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोकाअनुसार चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका-३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको छ ।
घाइते आरम्भको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको डीएसपी महतोले जानकारी दिए । अरु दुई घाइतेको भने भरतपुरमा उपचार भइरहेको छ ।
घाइते मकवानपुर हेटौँडा उपमहानगरपालिका-१८ का बलबहादुर कोइरालाको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा र मकवानपुरगढी गाउँपालिका-६ का २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको हो ।
ट्रक चालक मकवानपुरगढी गाउँपालिका-६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।