प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन् ।

सोमवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताए । सो परियोजना नेपालले यसअघि नै स्वीकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाई थियो । नेपालले आफ्नो लाभका लागि अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई स्वाभाविक रुपमा अघि बढाउनुपर्ने बताए ।

उनले भने ‘बीआरआई स्वाभाविक रुपमा नेपालको स्वीकार गर्दै आएको हो । स्वीकार नगर्ने त प्रश्नै छैन नि । किन ? बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । दक्षिणका देशहरू साउथ साउथ कोअपरेशन भित्र यो पर्दछ । यस अर्थमा पनि नेपाल जस्तो देशले यसबाट लाभ लिनुपर्दछ । लाभ लिने सन्दर्भमा हामी सबैसँग सम्बन्ध राख्ने गरेका छौं । लाभ लिने गरेका छौं । झन् बीआरआईसँगमा हामी आबद्ध उहिले नै भइसकेका छौं विभिन्न सरकारहरू । त्यसो हुनाले त्यसलाई पनि अघि बढाउनुपर्ने आवश्यकता छ । बीआरआईसँग हामी डराएका छैनौँ ।’

त्यस अवसरमा अध्यक्ष नेपालले कुनै पनि छिमेकमा आशंका उत्पन्न नहुनेगरी चीन भ्रमण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *