‘सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको बताएका छन् ।

एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए । ‘जसले मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यस माथि कसरी प्रहार हुन्छ भन्ने अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ’, उनले भने ।

महासचिव पोखरेलले कतिपय निर्माण व्यवसायीहरूले काम गर्नका लागि लिएको ‘मोबिलाइजेशन फण्ड’ नाफा कमाउन जग्गामा लगानी गरेको, जग्गाको कारोबार सङ्कटमा पर्दा निर्माण व्यवसायी पनि सङ्कटमा परेको र यसले गर्दा विकास निर्माण नै रोकिएको बताए ।

महासचिव पोखरेलले भने, ‘निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ ।’ उनले अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्णयुग बनाउन सक्ने युग भएको र मुलुकमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको बताए ।

एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसङ्गठनमा परेको समस्या समाधानमा पार्टीले पहल गर्ने बताए । एमालेका केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागका पूर्वप्रमुख डा कृष्णबहादुर केसीले निर्माण व्यवसायमा समस्या आउँदा सबै क्षेत्रमा समस्या आउने गरेको उल्लेख गरे ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घका महासचिव बालकृष्ण सिवाकोटीले एमालेको सरकार बनेको बेलामा धेरैतिर निर्माणका काम सुरु हुने र एमाले सरकारबाट बाहिरिएपछि निर्माण व्यवसायमा समस्या आउने गरेको बताए ।

लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष होमनाथ कोइरालाले सरकार र निर्माण व्यवसायीको हितमा मिलेर काम गर्नुपर्ने धारणा राखे । निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले व्यवसायीले भुक्तानी नपाएको कारण मर्कामा परेकाले पार्टीको तर्फबाट सरकारसम्म सो कुरा पुर्‍याउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *