अन्ततः एमालेले तिर्ने भयो महानगरले तोकेको एक लाख जरिवाना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले गत शुक्रवार काठमाडौंको दरबारमार्गमा जागरण सभाको आयोजना गर्यो ।
मुलुकमा बढेको अराजकता विरुद्ध,सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने उद्धेश्यले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले जागरण सभा गरेको थियो ।
तर,कार्यक्रम समापनपछि नेकपा एमाले पार्टी कार्यालयका नाममा काठमाडौं महानगरले एउटा पत्र काट्यो । दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरिएको भन्दै महानगरपालिकाले नेकपा एमाले पार्टी कार्यालयका नाममा एक लाख जरिवाना गरिएको पत्र काटेको थियो ।
एमाले केन्द्रिय कार्यालयलाई काठमाडौं महानगरपालिकाले जरिवाना सम्बन्धी काटेको पत्र
नेकपा एमाले पार्टी कार्यालय च्यासल,ललितपुरका नाममा नगर प्रहरी निरीक्षक लिलाराज गाछाद्धारा हस्ताक्षरित जरिवाना पत्रमा भनिएको थियो,‘प्रस्तुत विषय सम्बन्धमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहोरमैला व्यवस्थापन ऐन,२०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन,२०८१ बमोजिम रु.१,००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
बालेनको जरिवाना पत्रपछि एमालेको आक्रोश
महानगरपालिकाले जरिवाना पत्र काटेपछि एमाले नेताहरुले आपत्ति जनाएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महानगर प्रमुख बालेन शाह एमाले पार्टी विरुद्ध परिचालित भएको बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भने,‘काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले) का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको पर्चाबाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाट भइरहेको थियो । संकलन गरिएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साँटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पत्र सार्वजनिक गरियो,त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहोर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री संगसंगै जारी नै थियो । तर,पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो । नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफ गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।’
यस्तै एमालेकै अर्का नेता महेश बस्नेतले महानगर प्रमुख बालेन शाहले जरिवाना नभई एक लाख रुपैयाँ भिख मागेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखे । जरिवाना तिराउने बालेनको निर्णयलाई दुई वटा कोणबाट हेर्न सकिने बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘बालेनद्धारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ । यसलाई दुई एङ्गलबाट हेर्न सकिन्छ । सकारात्मक : काठमाडौंमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो । जसकारण सफा गर्नको लागि मात्रै पनि बोलनलाई १ लाख भिख माग्न पर्यो । नकारात्मक : बालेनलाई यति धेरै एमाले फोबिया छ की कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रममणबाट मर्छ भनिएको भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघले होइन किताबमा भएको बाघकोचित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसंग डराएर सकिने अवस्थामा पुगेको छ ।’
नियत खराब राखेर पत्र काटिएपनि त्यसको कार्यान्वयन गरिन्छ : स्थायी कमिटि सदस्य तामाङ
यसैबीच नेकपा एमालेका नेता एवं स्थायी कमिटि सदस्य शेर बहादुर तामाङले महानगर प्रमुख बालेन शाहलाई प्रचारमा आउन मन लागेकोले एमालेलाई जरिवाना सम्बन्धी पत्र काटिएको बताए ।
‘प्रचारमा आउन उहाँ(महानगर प्रमुख बालेन शाह)ले जरिवानाको पत्र काट्नुभएको हो । यसका लागि पत्र काट्नुपर्ने जरुरी नै थिएन । हामीले राति ११ बजेसम्म सफा गरेका छौँ । जागरण सभा सक्नुअघि नै पत्र काटिएको छ ।’
काठमाडौं महानगर प्रमुख शाहले कस्मेटिक कुरा गरेर स्टण्टबाजी गरिरहेको उनले बताए । ‘सभापति ज्यूले सभा समापन भन्नु अगाडि उहाँ पत्र काट्नुहुन्छ । अनी मान्छे हुँदा हुँदै सभा चल्दा चल्दै सफा त गरिदैन होला नी त । कार्यक्रम सकिएपछि स्वयंसेवक लागेर राति ११ बजेसम्म सफा भएको छ । सबै सफा गरेर हामी हिँडेका छौँ,स्थायी कमिटि सदस्य तामाङले भने,सभा सकेर त्यत्तिकै फोहोर छाडेर हिँडेको भए १ लाख होइन १० लाख,१ करोड गरेपनि हुन्छ । तर,उहाँलाई प्रचारमा आउनु थियो । सभाप्रति उहाँलाई के लाग्यो होला,कहीँ न कहीँ सभालाई जोडेर चर्चित हुनुछ भन्ने लाग्या होला ।’
राज्यको आधिकारीक अङ्गले नियत खराब राखेर नै पत्र काटेपनि त्यसको कार्यान्वयन गरिने तामाङले बताए । सम्बन्धित कमिटिले जरिवाना तिर्ने उनले बताए । यसका लागि सम्बन्धित कमिटिहरुले विचार गरिरहेको समेत तामाङले बताए ।
यस्तै उनले सरकारी पत्र कार्यालयमा नपठाई सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरिनु उपयुक्त नहुने उनी बताउँछन् । ‘सरकारी कागजात जथाभावी हुन्छ ? सम्बन्धित पक्ष कहाँ पत्र पुगेको छैन । सामाजिक सञ्जाल प्रयोग गरेर बाहिर प्रचार गरिरहनुभएको छ । जिम्मेवार जनप्रतिनिधि त्यसो गर्छन् ? सम्बन्धित निकायमा पत्र पुगेपछि प्रचार गरेको भएपनि हुन्थ्यो होला नी । ठूला पार्टीका शीर्ष नेतासंग जुधेपछि ठूलै चर्चा पाइन्छ भन्ने उहाँलाई लागेको होला,कुनै दिन जनताले मूल्याङ्कन गर्नेछन्,’स्थायी कमिटि सदस्य तामाङले मकालुखबरसंग भने ।
काठमाडौं,भक्तपुर र ललितपुर जिल्ला कमिटि जागरण सभाको आयोजक भएको उल्लेख गर्दै केन्द्रिय कार्यालयलाई बोधार्थ दिन सकिने उनी बताउँछन् । उनले केन्द्रिय कार्यालयको नाममा जरिवाना पत्र काटिएकाले पत्र नबुझिएको बताए । पत्र काट्ने ढाँचा पनि थाहा नहुनेले मुलुक चलाउँछ ? महानगर चलाउँछ ? भन्दै उनले प्रश्न समेत गरे ।
नेकपा एमालेले काठमाडौं महानगरपालिकाले दिएको जरिवाना पत्र लिन अस्वीकार गरेको छ । आइतबार जरिवाना पत्र लिएर महानगर प्रहरीको टोली एमाले पार्टी कार्यालय च्यासल,ललितपुर पुगेको थियो । महानगर प्रहरी टोलीले पत्र बुझ्न आग्रह गरेपनि एमालेले पत्र बुझ्न नमानेपछि महानगरको प्रहरी टोली त्यसै फर्किको थियो ।
एमालेले पत्र बुझ्न नमानेपछि महानगरपालिकाले इमेलमार्फत् एमालेलाई पत्र पठाएको थियो । सोमबार महानगरले इमेलमार्फत जरिवाना पत्र पठाएको हो ।
नेकपा एमालेले भने काठमाडौं,भक्तपुर र ललितपुर जिल्ला कमिटिको आयोजनामा कार्यक्रम(जागरण सभा) गरिएको भन्दै केन्द्रिय पार्टी कार्यालयले महानगरको पत्र बुझ्न नमिल्ने बताएको छ ।
यसअघि गत बैशाखमा महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि फोहोर गरेबाफत जरिवाना तिराएको थियो ।