सिटीले गुमायो ३ गोलको अग्रता, यस्तो छ च्याम्पियन्स लिगको नतिजा
काठमाडाैं । इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डविरुद्ध अग्रता लिएर पनि बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा इङ्ग्लिस टोलीले फेयनोर्डसँग ३-३ को बराबरीमा रोकिएको हो ।
घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ३ गोलको अग्रतालाई अन्त्यतिर जोगाउन नसक्दा बराबरीमा राकिएको हो । सिटीका लागि एर्लिङ हालान्डले २ तथा इल्के गुन्डोगानले १ गोल गरेका थिए । पाहुना टोलीका लागि एनिस हाज मौसा, सान्टियागो गिमेनेज र डेभिड ह्यान्कोले गोल गरेका थिए । खेलको ४४औं र ५३औं मिनेटमा हालान्डले २ तथा ५०औं मिनेटमा गुन्डोगानले सिटीका लागि गोल गरेका थिए ।
सिटी सुरुवाती ५३ मिनेट भित्र ३-० को स्पष्ट अग्रताका साथ जित तिर लम्किएको थियो । तर, खेलको अन्तिम १५ मिनेटमा फेयनोर्डले पुनरागमन गर्दै खेल बराबरीमा पुर्यायो । डच क्लबका लागि एनिस हाज मौसाले ७५ औं, सान्टियागो गिमेनेजले ८२ औं र डेभिड ह्यान्कोले ८९औं मिनेटमा गोल गर्दै सिटीलाई स्तब्ध बनाए ।
बराबरीसँगै सिटीले च्याम्पियन्स लिगको अंक तालिकामा पाँचौं स्थानमा पुग्ने मौका गुमाएको छ । सिटी ५ खेलमा ८ अंकका साथ १५औं स्थानमा झरेको छ । डच टोली भने ५ खेलमा ७ अंकका साथ २०औं स्थानमा उक्लिएको छ ।
इन्टर मिलान भने लाइजिगलाई १-० ले पराजित गर्दै अंक तालिकाको शीर्षमा उक्लेको छ । कास्टेलो लुकेबको आत्मघाती गोलले इन्टर विजयी रहेको हो र उसका पाँच खेलबाट १३ अंक भएको छ । बार्सिलोना १२ अंकमा दोस्रो स्थानमा छ र उसले भन ब्रेस्टलाई ३-० ले पराजित गर्यो । त्यसमा रोबर्ट लेवनडोस्कीले दुई गोल गरे ।
दिनको सबैभन्दा ठूलो खेलमा बायर्न म्युनिकले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले हरायो । किम मिन-जाएले एक मात्र निर्णायक गोल गरे । हारले पीएसजीको नकआउट चरणमा प्रवेशको सम्भावना निकै कमजोर भएको छ ।
अन्य खेलमा बायर लेभरकुजनले आरबी लाइपजिगलाई ५-०, आर्सनलले स्पोर्टिङ लिस्वनलाई ५-१, एटलान्टाले योङ ब्वाइजलाई ६-१, एसी मिलानले स्लोभान ब्राटिस्लाभालाई ३-२ तथा एटलेटिको म्याड्रिडले स्पार्टक प्रागलाई ६-० ले हरायो ।