इजरायल र लेबनानबीच युद्ध अन्त्य गर्ने सहमति
काठमाडौं । इजरेल र हिज्बुल्लाहबीच स्थानीय समय अनुसार बुधवार बिहान चार बजेबाट लागु हुनेगरी युद्धविराम सुरु भएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको घोषणा गरेका थिए जसलाई फ्रान्सले पनि समर्थन गरेको छ ।
उक्त सम्झौता कार्यान्वयन हुने केही क्षणअघि समेत बेइरुतमा इजरेली हवाई हमलाहरू भएका विवरण सार्वजनिक भएका थिए । युद्धविराम सुरु हुनुभन्दा केही घण्टाअघि दुवै तर्फबाट सीमा पार हमलाहरू जारी रहेका थिए । करिब एक वर्षदेखि हिज्बुल्लाहले गरेका रकेट हमलाको जबाफमा झन्डै दुई महिनाअघि इजरेली फौजले लेबननमा स्थल अतिक्रमण सुरु गरेका थिए । लेबननमा हुने युद्धविरामले गाजामा जारी इजरेलको युद्धलाई प्रत्यक्ष प्रभाव पारिहाल्दैन ।
युद्धविरामका सर्त अनुसार ६० दिनभित्र इजरेली फौज लेबननबाट फिर्ता हुनेछ भने हिज्बुल्लाहका लडाकुहरूलाई सोही अवधिभित्र देशको दक्षिणमा हजारौँको सङ्ख्यामा लेबननी सेनाले विस्थापित गर्नेछन् । राष्ट्रपति बाइडनले सीमाका दुवैतर्फ विस्थापित बनेका हजारौँ मानिसहरू छिट्टै आफ्नो घर फर्कन सक्ने बताए ।
इजरेल र लेबनन के भन्छन् ?
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौताले आफ्नो सरकारलाई इरानबाट हुने जोखिममा केन्द्रीत हुन सघाउने बताएका छन् । तर हिज्बुल्लाहले सम्झौता तोडेमा इजरेली सेनाले बलपूर्वक प्रतिक्रिया जनाउने चेतावनी उनले दिए । लेबननका प्रधानमन्त्री नजीब मिकातीले यस युद्धविरामलाई पुनः स्थिरता कायम गर्नका लागि आधारभूत कदम बताएका छन् ।
झन्डै दुई महिनाअघि इजरेली फौजले लेबननमा स्थल अतिक्रमण सुरु गरेका थिए । हिज्बुल्लाहका ठाउँमा अब लेबननको राष्ट्रिय सेना र लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज (यूनिफिल) खटिएर त्यहाँको रिक्तता पूरा गर्नेछन् । पाँच देशहरूको समिति र सम्झौता गराउने कामको अमेरिकाले निगरानी गर्नेछ । ‘तर लेबननी सेना सधैँ हिज्बुल्लाहभन्दा निकै कमजोर छ र यूनिफिल हिज्बुल्लाहलाई इजरेलतर्फ रकेट प्रहार गर्न दिन बिफल भएको छ,’ बीबीसीका सुरक्षा संवाददाता फ्र्यान्क गार्डनर भन्छन् ।
यस युद्धविरामसँगै अब ध्यान गाजातर्फ मोडिएको छ जहाँ समेत यस विकासक्रमले छिटै युद्धविराम हुने बाटोतर्फ डोर्याउने प्यालेस्टिनीहरूको आशा छ । अन्यले भने यसले हमासविरुद्धको हमलालाई बढाउन इजरेली सेनालाई सहज पारिदिएको र त्यसले थप सर्वसाधारणको हताहत बढाउने बताए ।
त्रिपक्षीय संयन्त्रमा अमेरिका र फ्रान्स पनि
सम्झौता कार्यान्वयन गराउनका लागि अमेरिका र फ्रान्स यसअघि कायम रहेको त्रिपक्षीय संयन्त्रमा संलग्न हुनेछन् । जसमा यसअघि लेबननी सेना, इजरेली सेना र राष्ट्रसङ्घीय शान्ति सेना थिए । लेबननमा अमेरिकी सेना खटिने छैन। तर अमेरिका र फ्रान्सले लेबननी सेनालाई तालिम र सञ्चारमार्फत् सघाउनेछन् ।
दक्षिण लेबननमा युद्धविराम कायम रहिरहने अवस्था बनाउन त्यहाँको आर्थिक पूर्वाधार विकासमा साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले इजरेल र लेबननबीचको युद्धविराम सम्झौताले हिंसा, विध्वंस र पीडालाई अन्त्य गर्ने आशा व्यक्त गरेका छन् । –बीबीसी