महिलालाई राज्यका प्रणालीहरूमा मुख्य जिम्मेवारी दिनुपर्छ : ओनसरी घर्ती

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले महिलाहरूलाई राज्यका हरेक निकायहरूको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताएकी छन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरूले अझै पनि राज्यका निकायहरूमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रूपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताएकी हुन् ।

मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उनको भनाइ छ ।

उनले आफू सभामुख रहँदा तत्कालीन मन्त्री र राजनीतिक दलहरूले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको बताइन् ।

महिलाहरूमाथि मानसिक समस्याहरू सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरूका लागि राज्यका हरेक निकायहरूमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उनको दाबी छ ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले महिलाहरूको क्षमतामाथि प्रश्न उठाउनुभन्दा उनीहरूको क्षमता विकासमा जोड दिन आवश्यक रहेको बताइन् ।

उनले पटक पटकको आन्दोलनको उपलब्धि स्वरूप आज महिला अधिकार स्थापित भएको बताउँदै यसको स्वामित्व पनि सबैले पाउनुपर्ने बताइन् ।

उनले आफूले अहिलेसम्म पाएको जिम्मेवारी कसैको भन्दा कमजोर नगरेको उल्लेख गर्दै सबै महिलाहरूले राज्यका हरेक निकायमा सहभागिता लागि अभ्यास गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *