मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन- घोषित लक्ष्य हासिल हुनेगरी काम गर्नू
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
बुधवार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सबै मन्त्रालयको त्रैमासिक कामप्रति असन्तुष्टि जनाउँदै निर्धारण गरिएका लक्ष्य प्राप्त हुनेगरी कामको गतिलाई अझै तीव्रता दिन मन्त्रीहरूलाई सचेत गराएका हुन् ।
प्रधानमन्त्रीले राखिएका लक्ष्य अनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ पनि सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।
उनले भने ‘मुख्यगरी सबै मन्त्रालयकोहरुको एकीकृत प्रस्तुति थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवले प्रस्तुति गर्नु भयो । प्रस्तुतिपछि सचिव, मन्त्रीज्युहरुले आफ्नो आफ्नो मन्त्रालयसँग सम्बद्ध र समग्र विषयमा जुन ३ महिनाको हाम्रो समीक्षा थियो । त्यसमा आधारित भएर हामीले कुरा राख्यौँ । प्रधानमन्त्रीले अन्तिममा निर्देशन दिनु भएको छ । अब अझ गतिका साथ तीन महिनाको यो समीक्षा पछि अब झन् गतिका साथ अगाडि बढ्ने र हामीले मन्त्रालयका लिएका जे लक्ष्य छन, त्यो लक्ष्य हासिल गर्ने गरी अगाडि बढ्नुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भयो । केही सुधार गरेर अझ राम्रो गर्नुपर्छ भन्ने नै हो । र, गत वर्षको भन्दा पुँजीगत खर्चको गति हेर्दाखेरि सकारात्मक देखिएको छ । प्रधानमन्त्रीले भन्नु पनि भयो । लक्ष्य अनुसार काम गर्न हामी सबै तयार हुनुपर्छ । जो जुन ठाउँमा छ । त्यसले सोअनुसार काम, कर्तव्य निर्वाह गर्न सकेन भने त कसैले पनि कुनैपनि ठाउँ ओगटी रहनु हुँदैन ।’
त्यस अवसरमा मन्त्रीहरूले आ आफ्नो मन्त्रालयको असोज महिनासम्मको कामको ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गरेका थिए । त्यसक्रममा मन्त्रीहरूले अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्याका कारण पनि लक्ष्यअनुसार काम गर्न समस्या भएको धारणा पनि राखेको मन्त्री पाण्डेले बताए । उनकाअनुसार गत वर्षको तुलनामा यस वर्ष सरकारको पहिलो त्रैमासिक कामको नतिजा सकारात्मक देखिएको छ ।