प्रधानमन्त्री ओली नेतृत्वमा ४० सदस्यीय टोली चीन जाने, उद्योगी-व्यवसायी पनि सहभागी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर व्यापक तयारी भइरहेको छ । यही १७ गते हुने चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुनेछन् । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने जाँदैछन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने चीन भ्रमणको तयारीस्वरूप मन्त्री राणा आज चीन जान लागेकी हुन् । उनी शनिबार नेपाल फर्केपछि पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका दौरान बिआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ), नेपाल–चीनबीच भएका सम्झौता र कार्यान्वयनको स्थिति, चलिरहेका परियोजनाहरू, र दुई देशबीचको आपसी सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट लिइएको ऋणलाई अनुदानमा परिणत गर्नका लागि प्रस्ताव राख्नु भ्रमणको अर्को मुख्य एजेन्डा हुनेछ ।
यसअघि अर्थ मन्त्रालयले चीनका विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनमार्फत यस विषयमा औपचारिक प्रस्ताव गरिसकेको थियो । सम्झौताअनुसार, विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट झन्डै २५ अर्ब ८८ करोड रुपैयाँ ऋण लिइएको थियो, जुन हालसम्म विमानस्थल सञ्चालनमा नआएकाले अनुदानका रूपमा रूपान्तरण गर्न पहल भइरहेको छ ।
बिआरआईमा ऋण लिने विषयलाई लिएर नेपालमा विभिन्न धारणा छन् । नेपालले सन् २०१७ मा बिआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपनि प्रधानमन्त्री ओलीले हालै मात्र ऋण लिने अवस्थामा नरहेको र उत्पादनमा जोड दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
भ्रमणको कार्यतालिका
परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओली १७ मंसिरमा चीन प्रस्थान गरेर १८ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । १९ मंसिरका दिन, प्रधानमन्त्रीले बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गर्नेछन् ।
भ्रमण २० मंसिरमा समापन हुने छ । चीनले सुरुमा १७ देखि २१ मंसिरसम्मको भ्रमणको प्रस्ताव गरे पनि दुवै पक्षको गृहकार्यपछि १७ देखि २० मंसिरसम्मको तालिका तय भएको हो । यद्यपि भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ । भ्रमणको औपचारिक घोषणा १४ मंसिरमा काठमाडौँ र बेइजिङबाट एकसाथ हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको चार्टर्ड विमानमा यात्रा गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको यो भ्रमण नेपालचीन सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा महत्त्वपूर्ण मानिएको छ ।