अब सहकारी ठगीमा रविको काठमाडौंमा बयान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका लागि बिहीबार साँझ काठमाडौं ल्याइएको छ । लामिछानेलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलन प्रकरणमा बयान लिन जहाजमार्फत काठमाडौं ल्याइएको हो ।
मंसिर २ गते काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेपछि उनलाई कास्कीबाट काठमाडौं पुर्याइएको थियो । कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको थियो । कास्की जिल्ला अदालतले उनलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिसकेको छ । काठमाडौंमा बयान सकिएपछि उनलाई कास्की नै फिर्ता पठाइने जनाइएको छ ।
गोर्खा मिडिया नेटवर्कमा रकम अपचलन गरेको आरोपमा पोखराको सूर्यदर्शन सहकारीबाट लामिछानेमाथि छानबिन भइरहेको छ । यसअघि, उनलाई बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा पनि बयानका लागि पुर्याइएको थियो । चितवनको साहारा चितवन सहकारीको रकम ठगी प्रकरणमा पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी छ, तर चितवन लैजाने वा नलैजाने विषयमा निर्णय भएको छैन ।
अनुसन्धानका क्रममा वीरगन्जको सानो पाइला सहकारी र नेपालगन्जको समानता सहकारीबाट समेत रकम गोर्खा मिडियामा गएकाले संसदीय छानबिन विशेष समितिले थप अनुसन्धान गर्न सुझाव दिएको छ । गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीलाई यसअघि कास्की प्रहरीको हिरासतमा राखिएको थियो । उनीमाथि पनि काठमाडौं र रूपन्देहीमा अनुसन्धान गरिसकिएको छ ।
प्रहरीका अनुसार, लामिछानेमाथि सम्बन्धित सहकारीको रकम ठगी, अपचलन, र संगठित अपराधको सन्दर्भमा प्रमाण संकलन भइरहेको छ । अनुसन्धान पूरा भएपछि मात्र थप कानुनी प्रक्रिया अघि बढाइनेछ ।