जयकृष्ण गोइतले आर्थिक सहयोग गर्न धम्की दिएको मधेसका गृहमन्त्री लेखीको गुनासो
काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफू नै असुरक्षित भएको बताएका छन् ।
गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टि गृह, सञ्चार तथा कानुन मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले आफैँ पुष्टि गरेका हुन् ।
मन्त्री लेखीले आफूलाई आर्थिक सहायताको नाममा जयकृष्ण गोइतले धम्की दिएको बताए । आफूलाई केही दिन अगाडी आर्थिक सहयोगका लागि गोइतले फोन गरी धम्की दिएको मन्त्री लेखीले बताए ।
उनले भने ‘जयकृष्ण गोइतको नाम सुन्नुभएको होला केही वर्ष अगाडीसम्म जनतान्त्रिक तराई मुक्ति मोर्चाको हिंसा गर्थे उनले नै मलाई आर्थिक सहयोगको नाममा धम्की दिए । गोइतले मलाई तपाईँ मन्त्री हुनुहुन्छ श्रोत साधन छ, आर्थिक सहयोग गर्नुस्, नभए कसरी दिनुहुन्छ मलाई थाहा छ भन्दै धम्की दिए ।’
आर्थिक सहयोग नगरे देखाइदिने भन्दै धम्की आएको मन्त्री लेखीको भनाइ छ ।