सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि नेपाली काँग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुई/तीन पटक नेपाली काँग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए । सोही बारेमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताए । महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको उनको भनाई छ ।
तर पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताए । जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको प्रचण्डको टिप्पणी थियो । काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाबी गरे । महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न उनको सुझाव छ ।
उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन । मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा । अब तपाईंहरुले सोधिहाल्नुभयो । गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल कति छिटो झर्न सकेको हो । त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्नसक्ने भएको देख्दा उहाँप्रति मलाई साँच्चै दया लागेको छ । तपाईंहरुले सोधि नै हाल्नुभयो । शतप्रतिशत झुटो कुरा हो । मैले भनेको छैन, बरु भन्दा पनि भन्दिन । मलाई त सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ । सरकार तपाईंहरु ०८४ सम्म नै चलाउनुस् भनेको छु । मेरो शेरबहादुर देउवाजीसँग यो विषयमा कहीँ कतै प्रत्यक्ष, परोक्ष केही कुरा भएकै छैन । यस्तो झुटो कुरा गगनजी तपाईं आत्मसमीक्षा गर्नुहोला भन्न चाहन्छु ।’
अध्यक्ष प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिइ ज्यान गुमाउनुभएका नारायण नगरकोटी र सानुमाया नगरकोटीका दुई छोरी गरिमा र अनु नगरकोटीको कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिएकोमा उद्धव नेपाललाई धन्यवाद ज्ञापन गरे । नेपालले अध्ययन/अध्यापन र शैक्षिक सामग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएको खुशी व्यक्त गरे ।