राज्यको आवश्यकताअनुरूप वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
गण्डकी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिस्थितिले जन्माएको आवश्यकताअनुसार वर्तमान सरकार गठन भएको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले आज आयोजना गरेको छलफल एवं अन्तरक्रियामा नेता सिंहले देशमा राजनीतिक स्थिरताका लागि पहिलो र दोस्रो ठूलो दल सम्मिलित सरकार बनेको बताए ।
प्रमुख ठूला दल कांग्रेस र एमाले पार्टी अरूलाई पनि मिलाएर राजनीतिक स्थायित्व दिन सक्छ कि भन्ने कुराले नै यो समीकरण बनेको नेता सिंहले स्पष्ट पारे । छोटो समयमा सरकार परिवर्तन हुँदा त्यसप्रति जनताले पनि प्रश्न उठाउन थालेको उल्लेख गर्दै उहाँले नटिक्ने सरकारले हाम्रा लागि के काम गर्छ ? टिक्ने सरकार त हुनुपर्यो नि भन्ने जस्ता आवाज जनस्तरबाट आउन थालेको बताए ।
शान्ति सम्झौतालाई कांग्रेसले आँट गरेर नै अघि बढाएको प्रसङ्ग स्मरण गर्दै मन्त्री सिंहले राजनीतिक स्थायित्वका लागि नै प्रमुख ठूला दल एकताबद्ध बन्दै अघि बढेको जिकिर गरे । साना दललाई मौका दिँदा कहिले कांग्रेसलाई त कहिले एमालेलाई खेलाएको बताउँदै उहाँले त्यसले परिणाम दिन नसकेकै कारण राजनीतिक स्थिरता र विद्यमान समस्याको समाधानका लागि अघि बढिएको स्पष्ट पारे ।
वर्तमान सरकार देशका तमाम समस्याको पहिचान गरी एक एक केलाउँदै त्यसको समाधानका लागि अघि बढेको उनको भनाइ छ । सरकार दलहरूबीचकै समझदारीअनुसार अघि बढ्ने र सातबुँदे समझदारीअनुसार सरकार गठन भएको कुरा बहालवाला प्रधानमन्त्रीले स्वयंले भन्दै आउनुभएको भन्दै उहाँले सरकार त्यसअनुरूप नै अघि बढ्ने धारणा राखे ।
कांग्रेसको कुनै नेता तथा कार्यकर्तामाथि प्रश्न उठ्यो भने पार्टीकै कार्यकर्ता वास्तविक कुरा नबुझी हल्लाको पछि लाग्ने गरेको बताउँदै उपप्रधानमन्त्री सिंहले कोही माथि प्रश्न उठ्छ भने विधिको शासनअनुसार कानुनबमोजिम छानबिन भई दोषी भए कारबाही हुने उनले बताए । कांग्रेसकै पार्टीका नेता भ्रष्टाचारको मुद्दामा जेल गएर अहिले राजनीतिमा नै नरहेका उदाहरण रहेको उनले बताए ।
पार्टीभित्र पार्टीको नियमअनुसार बस्नुपर्ने उल्लेख गर्दै मन्त्री सिंहले हामीले कांग्रेसको चरित्रअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीले गाउँ, पालिका, क्षेत्र र केन्द्रमा बस्नेले तत्तत् ठाउँका विवाद मिलाएर लैजानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टीमा राम्रो व्यवस्थापन गरेर लैजान नसकेको अवस्थामा झन् बिग्रेर जाने बताए ।
नेपालको अहिलेको आर्थिक अवस्था कमजोर भएको भन्दै नेता सिंहले ऋण दियो भन्दैमा जति दियो भने पनि लिने पछि देखाजायगा भनेर बस्नु नहुुने बताए । कांग्रेस एमाले मिलेर बनेको सरकार भएका कारण प्रधानमन्त्री चीन जाँदा बिआरआईको कार्यान्वयनको सम्झौतामा हस्ताक्षर गर्नु अगाडि केकेमा संशोधन गर्नुपर्छ भन्नेमा साझा अवधारणा बनाइएको उनले बताए ।
विकास निर्माणका आयोजनाहरू, जनताका तहमा आदानप्रदानका कुराहरूलगायत साझा कुराहरू तयार गरेका चीनमा पठाइएको बताउँदै उहाँले त्यहाँको पनि के प्रतिक्रिया आउँछ त्यसअनुरूप हुने उल्लेख गरे ।
कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टी आफ्नो स्थापनाकालीन आदर्शलाई आत्मसात् गर्दै अघि बढेमा कसैसँग झुक्नु नपर्ने धारणा राखे ।